दमौली । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक स्थिरता र आर्थिक अनुशासनका लागि नेपाली काङ्ग्रेस र नेकपा (एमाले) बीच सरकार गठनमा सहमति बनेको बताएका छन् । तनहुँमा शनिबार आयोजित भेटघाटमा देशलाई सङ्कट परेका बेला दुई ठूला दल सधैँ मिल्दै आएको बताए ।
राजनीतिलाई स्थायीत्व दिँदै जनतामा रहेको निराशा चीर्नका लागि दुई पार्टी मिलेर सरकार सञ्चालन गरेको बताउँदै मन्त्री गुरुङले भने, ‘वर्षैपिच्छे सरकार परिवर्तन हुँदा जनतामा एकखालको निराशा छाएको थियो । दुई ठूला पार्टी मिलेर देशलाई स्थिरतातर्फ लैजाने प्रयास गरेका हौँ ।’
दुई ठूला पार्टीको सरकार बन्दै चमत्कारका काम नभए पनि अर्थतन्त्रमा देखिएका समस्या बिस्तारै समाधान हुँदै गएको उनको दाबी थियो ।
उनले भने,’जहाँजहाँ समस्या थियो, त्यस क्षेत्रमा समाधानका प्रयास भएका छन् । सरकार ठीक ढङ्गले लयमा अगाडी बढेको छ ।’
जनअपेक्षा अनुसारका काम गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री गुरुङले भने, ‘संविधान पनि काङ्ग्रेस एमाले मिलेर बनाएका हौँ । पञ्चायत विरुद्धको आन्दोलनमा पनि हामी सँगै थियो । जबजब देशलाई आवश्यकता पर्दछ, हामी एकसाथ हुन्छौँ ।’
सरकार सञ्चालनमा एकसाथ तर चुनावमा प्रतिस्पर्धा गर्नेगरी अगाडि बढिएको मन्त्री गुरुङको भनाइ थियो ।