नयाँदिल्लीले स्वागत गर्न नरुचाएपछि प्रधानमन्त्रीको चीन भ्रमणको तयारी थालिएको हो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले आगामी डिसेम्बर पहिलो साता चीन भ्रमणको निम्तो पठाएका छन् । प्रधानमन्त्री ली ले प्रधानमन्त्री ओलीलाई २–६ डिसेम्बरमा चीन भ्रमणको निम्तो पठाएका हुन् । भ्रमणको निम्तो आएसँगै कांग्रेस एमालेको दुई दलीय राजनीतिक संयन्त्रको बैठकले प्रधानमन्त्रीको चीन भ्रमणको तयारीको संयोजनको जिम्मेवारी परराष्ट्रमन्त्री डा. आरजु राणालाई दिएको छ । संयन्त्रको बैठकको निर्णयमा भनिएको छ, ‘चिनियाँ प्रधानमन्त्री लि छ्याङको निमन्त्रणामा आगामी डिसेम्बर महिनामा हुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र चीनको औपचारिक भ्रमणको तयारीको संयोजन प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गर्ने । दुई नेताको निर्देशन अनुरुप संयन्त्रको कार्यदलले भ्रमणका लागि आवश्यक गृहकार्यमा सहजिकरण गर्ने ।’

पछिल्लो पटक गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएपछि ओलीको औपचारिक विदेश भ्रमण यो नै पहिलो हुनेछ । यसअघि संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न अमेरिका गएपनि यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ । सरकार गठनको एक महिनापछि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले ३ भदौमा भारतीय प्रधानमन्त्री मोदीसँग दिल्लीमा शिष्टाचार भेट गरेकी थिइन् । त्यतिबेला उनले मोदीलाई नेपाल भ्रमणको निम्तो पनि दिएकी थिइन् । परराष्ट्रमन्त्री राणालाई भारतका प्रधानमन्त्री मोदीले उच्च महत्व दिएका थिए । मोदीले आरजुलाई महत्व दिएको देखेर नेपालमा ओलीलाई भारतले नरुचाएको भन्ने विश्लेषण पनि गरिएको थियो । तर परराष्ट्रमन्त्री राणाको भ्रमणका बेला भारतीय प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्ता दिएनन् ।

गत असोजमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री मोदीसँग साइडलाइन वार्ता गरेका थिए । सन् २०१९ मा नेपालले संविधान संशोधन गरेर नेपालको चुच्चे नक्सा बनाएपछि भारतीय प्रधानमन्त्री मोदीसँग ओलीको सम्बन्धमा सुधार आउन नसकिरहेका बेला अमेरिकामा भएको भेटले केही सुधार आउने आशा गरिएको थियो । भेटमा प्रधामन्त्री ओलीले मोदीलाई नेपाल भमणको निमन्त्रणा दिएका थिए । तर त्यहाँ पनि ओलीलाई मोदीकातर्फबाट निम्ता आएन । लामो समय कुर्दा पनि भारतीय पक्षबाट निम्ता नआएपछि प्रधानमन्त्रीले चीन भ्रमणको तयारी गरेको बताइएको छ । चीन भ्रमणमा प्रधानमन्त्री ओलीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई), पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिएको ऋणलाई अनुदानमा परिणत गर्न चीनलाई आग्रह गर्ने बताइएको छ । सन् २०१७ मै बीआरआई फ्रेमवर्कमा समझदारी भइसके पनि कार्यान्वयनमा नगएकोमा चीनको पनि चासो छ । भ्रमणमा यसबारे पनि कुराकानी हुने बताइएको छ । यसअघि २०६५ सालमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री हुँदा आफ्नो पहिलो भ्रमण चीनबाट गरेर भारतलाई चुनौती दिएका थिए । त्यसपछि भारतसँग प्रचण्डको सम्बन्धमा दरार आएको थियो । त्यसपछि भारतसँग प्रचण्डलाई सम्बन्ध सुधार गर्न लामै समय लागेको थियो ।

केही दिनअघि वरिष्ठ पत्रकार विजयकुमार पाण्डेले नेपालका लागि चीनका राजदूत चेन सङसँगको भेटमा हाम्रा प्रधानमन्त्रीको चीन भ्रमणबारे जिज्ञासा राखेका थिए । राजदूत चेनसँग भएको कुराकानीलाई पाण्डेले यसरी प्रस्तुत गरेका छन्ः

‘के निकट भविष्यमा नै , हाम्रा प्रधानमन्त्री केपी ओलीजी चीन भ्रमणमा जान थाल्नु भएको हो ? भ्रमणको तयारीबारे केही बताउनु हुन्थ्यो कि ?
‘यस बिषयमा तपाईंले नेपाली पक्षलाई सोध्नु भए बढी राम्रो हुनेछ ।’
‘नेपाल र चीनबीच लामो कालदेखि मित्रवत सम्बन्ध रहेका छन् । तपाईंको नजरमा, सम्बन्धहरुलाई थप परिणाममुखी बनाउन, नेपालबाट तपाईले के अपेक्षा गर्नु हुन्छ ? नेपालले के गरेदेखि राम्रो हुने थियो ? तपाईंहरुको अपेक्षा के हो ?’ ‘Consistency’ राजदूत चेनले एक शब्दमा गहिरो जवाफ दिनुभयो । ‘Consistency’ शब्दको अर्थ हुन्छ स्थिरता । नेपालका नीतिहरुमा स्थिरता छैन भनेर राजदूत चेन सङले मुखले भन्नु भएन । तर धेरै नभनिकन पनि उहाँले त्यो एक शब्दबाट धेरै भन्नु भयो । मुस्कुराउँदै बिदा हुनुभयो

राजदूतले खोजेको स्थिरता प्रधानमन्त्रीको चीन भ्रमणमा उनका समकक्षीले पनि सायद उठाउलान् । अहिले प्रधानमन्त्री ओलीको चीन भ्रमणले पनि भारत थप चिढिन सक्ने र यसले अस्थिरता बढाउने विश्लेषण गर्नेहरु पनि छन् ।

वरिष्ठ पत्रकार किशोर नेपाल ओलीलाई भारतले स्वागत गर्ने रुची नदेखाएको टिप्पणी गर्छन् । उनको टिप्पणी छ, ‘परराष्ट्रमन्त्री आरजु देउवाको अथक मेहनतका वावजूद भारतले नयाँदिल्लीमा उहाँको स्वागत गर्ने रूचि नदेखाएपछि उहाँ चीन जाने हुनु भएको हो । भारतले ननिम्त्याएर के भो त ! म उत्तर घुमेर आउँछु भनेर प्रम ओली गमक्क गम्किनु भएको होला । तर, अहिलेको विश्वको राजनीतिमा उपयोगितावाद निर्णायक भएको छ । यो कुरा प्रम ओलीले बुझे राम्रो होला ।’

तर अर्का वरिष्ठ पत्रकार कनकमणि दीक्षित प्रधानमन्त्रीलाई भारतले निम्ता नगर्दा खिसिट्यूरी गर्नु गलत भएको बताउँछन् । उनी भन्छन्, ‘नेपाली हीनताबोध ! अरु कतै यस्तो नहोला ! भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्रीलाई नयादिल्ली निम्ता नगर्दा मोदीको नेपालप्रति गैरमैत्री व्यवहारबारे टिप्पणी गर्नुको साटो केपी ओलीलाई खिसीट्यूरी गर्ने हामी । देशको प्रधानमन्त्री ।’

यो पनि

चिनियाँ राजदूतलाई विजयकुमारको प्रश्नः नेपालले के गरेदेखि राम्रो हुने थियो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *