एजेन्सी । युईएफए च्याम्पियन्स लिगमा क्याटलान क्लब बार्सिलोनाले शानदार जित निकालेको छ । बुधबार राति भएको खेलमा बार्सिलोनाले रेड स्टार बेल्ग्राडेलाई ५-२ गोलले हराएको हो ।
भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गर्दै इनिगो मार्टिनेज, राफिन्हा र फेर्मिन लोपेजले समान एक/एक गोल गरे । रेड स्टारको लागि सिलास काटोम्पा मुम्पा र मिल्सनले समान एक/एक गोल गरे । खेलको १३ औं मिनेटमा मार्टिनेजले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।
२७ औं मिनेटमा मुम्पाले गोल गर्दै रेड स्टारलाई १-१ गोलको बराबरीमा ल्याए । ४३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २-१ गोलको अग्रता दिलाएका थिए । ५३ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । ५५ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अगाडि बढाएका थिए ।
७६ औं मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई ५-१ गोलको अग्रता दिलाए । ८४ औं मिनेटमा मिल्सनले गोल गर्दै रेड स्टारलाई ५-२ गोलको स्थितिमा ल्याए बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना ५-२ गोलले विजयी भएको हो ।
जितसँगै बार्सिलोना ४ खेलबाट ९ अंक जोड्दै लिगको छैटौं स्थानमा रहेको छ । समान खेलबाट अंकविहिन रेडस्टार ३५ औं स्थानमा रहेको छ ।