डा. प्रकाशचन्द्र लोहनी ।
१. काठमाडौँका मेयर बालेन साहले देश किन डुब्यो भन्दा सिङ्घदरबार वैद्यखाना हेरे पुग्छ भनेछन् । कुरो ठिक हो । नेपालमा प्रताप मल्लको समयबाट सुरु भएको र जुद्ध शम्सेरको पाला मा नामाकरण भएको वैद्यखाना नेपालका वर्तमान शासक वर्गको लागि ‘लुट को खाना’ जस्तो भएको छ ।
२. धेरै वर्षअघि मलाई सम्झना छः मेरो पिताले जाडोमा हामीलाई वैद्यखानाले उत्पादन गरेको ‘च्यवनप्रास’ भनी औषधि खुवाउनु हुन्थ्यो । यसले जाडोमा रोग लाग्दैन र शरीर बलियो बनाउँछ भन्नुहुन्थ्यो । हो नै जस्तो लाग्छ किनभने शरीर अहिलेसम्म बलियै छ त्यस्तै मेरो पिताजी रक्तचापको लागि बिहान अलिकति सिलाजित खानु हुन्थ्यो । मैले एक पटक सोधेको थिएँ, ‘सिलाजितले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ भन्ने वैज्ञानिक आधार छ र ? बुबाले भन्नु भएको थियोः सिलाजितबाट मलाई जे फाइदा भएको छ त्यही हो वैज्ञानिक आधार । यसै सिलसिलामा केही महिना अगाडी मैले विश्वास गर्ने हाम्रो देहको प्रसिद्ध डाक्टरले भन्नुभयो, ‘प्रकाशबाबु, लौन मलाई जसरी भएपनि केही नेपाली सिलाजित मगाई दिनपर्यो । अनि मैले बुबालाई फेरि सम्झें ।’
३. सिलाजित वैद्यखानाको चलेको औषधि हो तर अचेल हराएको छ । आयुर्वेदिक औषधिको महत्व संसारभरि बढेको छ । नेपालमा यी बस्तुहरुमा भारतीय कम्पनीहरुले राम्रो व्यापार र धेरै ठूलो नाफा गरिरहेका छन् । हाम्रो दक्षिण एशियाको सबभन्दा पुरानो वैद्यखाना चाहिँ आर्यघाट मा पुग्न मात्र बाँकी छ । यसको हरेक वर्ष बिक्री घटेको छ । कुल आम्दानीमा प्रशासनिक खर्च मात्रै ७० प्रतिसत छ.। तर वन जंगल र जडीबुटी हाम्रो विकासको आधार भन्ने कुनै पनि नेता र पार्टीले यो वन –जंगल र जडीबुटीको सदुपयोग गर्ने संस्थालाई अगाडी बढौं भन्ने बारे चासो छैन । किनभने यसमा पैसा खाने ठाउँ कम छ । मर्न लागेको संस्थामा लुटाहाहरुलाई लुट्ने ठाउँ छैन ।
४ सामाधानः म सामाधानका केही बुँदाा राख्छु र यसमा छलफल होस् भनि सकारात्मक सोच राखेर अनुरोध गर्दछु:
(क) हालको वैद्यखाना विकास बोर्ड खारेज गरौं ।
(ख) संस्था काठमाडौँ महानगरपालिका लाई हस्तान्तरण गरौं । जसले चरित्र र इमान्दारीलाई अगाडी राखेर काम गर्ने आँट गर्छ त्यसलाई उत्साह दिनुपर्छ र
हस्तान्तरणका सर्तहरुः
( क) वैद्यखानाको मूल्यांकन गरि यसको १५ देखि २० प्रतिशत महानगरले स्वमित्य शेयर ( क) को रुप मा राख्नु पर्ने ( ख) बाँकी रकम ब्याज नलाग्ने सर्तमा नेपाल सरकारले महानरलाई तीस वर्षभित्र तिर्न पर्ने गरि ऋणमा दर्ता गर्ने (ग) महानगरले नयाँ कम्पनीको पाँच वर्षे उत्पादन योजना अनुरुप नयाँ मेशीन किन्न र चालु पुँजीको लागि बैंकबाट ऋण लिने र यसको लागि नेपाल सरकार ले ब्याजमा पाँच वर्षको लागि आंशिक अनुदान दिने (ग) जिम्मा लिएको तीनवर्ष भित्र महानगरले कम्तिमा एक तिहाई स्वामित्व सर्वसाधारण जनतालाई शेयर बजारमार्फत बेच्नु पर्ने (घ ) आउँदो पाँच वर्षभित्र वैद्यखाना र सामुदायिक वनहरुबीच कच्चा पदार्थ र प्रविधि सम्बन्धमा नयाँ अन्तर सम्बन्ध कायम गराउने ।
५. माथि को मोडलबारे छलफल र परिमार्जन गरौं मूलतः अब गरिने निजीकरणमा स्थानीय सरकार, जनता, वित्तीय संस्था र केन्द्रीय सरकारबीच पारदर्शी तरिकाले अगाडी बढे चिताएको परिवर्तन हुन सक्छ धेरै टाढा जना पर्दैन । १९८० को दशकमा चीनले गरेको उद्योग विकासको यथार्थता अध्ययन गरे धेरै कुरा बुझिन्छ । मूल कुरो निजीकरण र उदारिकणको नाममा व्यापारी र नेताहरु मिलेर लुट्ने काम अब हुन दिनु हुँदैन । यस्तो लुटले देशले कहाँ पुर्याउँदो रहेछ भन्ने कुरो ९० को दशकमा रुसको उद्योगको लुटमा राजनीतिज्ञ र ठालु व्यापारी (oligarch ) को कथाले प्रस्ट गर्दछ ।