एजेन्सी । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस लिग ला लिगामा लगातार चौथो जित निकालेको छ । आइतबार राति भएको खेलमा इस्पानियोललाई ३-१ गोलले हराउँदै बार्सिलोनाले शीर्ष स्थानमा ९ अंकको अग्रता लिएको हो ।
इस्टाडी ओलिम्पिक लुइस कम्पनिसमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन डानी ओल्मोले दुई गोल गर्दा राफिन्हाले एक गोल गरे । इस्पानियोलको लागि जाभियर पुडोले एक गोल गरे । खेलको १२ औं मिनेटमा ओल्मोले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए । २३ औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।
३१ औं मिनेटमा ओल्मोले गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अगाडि बढाएका थिए । ६३ औं मिनेटमा पुडोले गोल गर्दै इस्पानियोललाई ३-१ गोलको स्थितिमा ल्याए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बार्सिलोना ३-१ गोलले विजयी भएको हो ।
जितसँगै बार्सिलोना १२ खेलबाट ३३ अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट १० अंक जोडेको इस्पानियोल १७ औं स्थानमा रहेको छ ।