सेमिफाइनलमा युएईसँग पराजित हुँदै नेपाल हङकङ सिक्सेसबाट बाहिरियो

काठमाडौं । नेपाल हङकङ सिक्सेट क्रिकेटबाट बाहिरिएको छ । आइतबार बिहान भएको प्लेटतर्फको सेमिफाइनल खेलमा युएईसँग ५ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

जितको लागि ९५ रनको विजयी लक्ष्य पछ्याएको युएईले ५.२ ओभरमा एक विकेटको क्षतिमा ९६ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । युएईको लागि कप्तान आसिफ खानले अर्धसतक बनाए । उनले १५ बलमा ७ चौका र ३ छक्काको मद्दतमा ५५ रन बनाए । यस्तै अंश तान्डोनले २३ र खालिद शाहले १५ रन बनाए ।

नेपालको लागि रसिद खानले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ६ ओभरमा तीन विकेटको क्षतिमा ९४ रन बनाएको हो । नेपालको लागि विवेक यादवले सर्वाधिक ४९ रन बनाए । उनले १६ बलमा ५ चौका र ३ छक्का हिर्काए । यस्तै लोकेश बले १९, प्रतिष जिसीले १४ र कप्तान सन्दीप जोराले ७ रन बनाए ।

युएईको लागि अकिफ राजाले दुई र संचित शर्माले एक विकेट लिए । जितसँगै युएई फाइनलमा पुगेको छ । अब युएईले उपाधिको लागि दक्षिण अफ्रिकाको सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *