जेनेभा । उत्तरी गाजामा पहुँचको अभाव, तीव्र आक्रमण र पटक–पटकको निकासी आदेशका कारण गत अक्टोबरबाट स्थगित भएको पोलियो खोप अभियानको तेस्रो चरण शनिबारदेखि सुरु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनएको छ ।
डब्लुएचओ र संयुक्त राष्ट्रसंघीय बाल कोष(युनिसेफ) ले जारी गरेको संयुक्त विज्ञप्तिका अनुसार परिवारलाई आफ्ना बच्चाहरूलाई खोपका लागि सुरक्षित रूपमा ल्याउन र अभियान गतिविधिहरू आयोजना गर्न असम्भव भए पछि अभियान स्थगित भएको थियो ।
हाल अभियान सञ्चालनका लागि आवश्यक तयारी सुनिश्चित गर्दै सुरु गरेको जनाइएको छ । गाजामा गत सेप्टेम्बर मा सञ्चालन गरिएको खोपको पहिलो चरणको तुलनामा अभियानको क्षेत्र घटाइ हाललाई गाजा सहरमा मात्र सीमित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जबालिया, बेत लाहिया र बेत हानुनलगायतका गाजाका सहरहरूमा दस वर्ष मुनिका करिब १५ हजार दुर्गम बालबालिकाहरु अभियानबाट छुटेका छन् । पोलिओ भाइरसको सङ्क्रमण रोक्न प्रत्येक समुदाय र छिमेकका कम्तिमा ९० प्रतिशत बालबालिकाले खोप लगाउनु पर्ने आवाश्कता रहेको जनाइएको छ ।
गाजाका बालबालिकामा पहुँचको अभाव भए पनि गाजाका लागि पोलियो प्राविधिक समितिले अभियान पुनः सुरु गर्ने निर्णय गरेको छ । यसको उद्देश्य पोलियो खोप सकेसम्म धेरै बच्चाहरूसम्म पुगाई जोखिमलाई कम गर्नु र गाजाका अन्य भागबाट गाजा शहरमा आएकाहरुलाई खोप लगाउने अवसर प्रदान गर्नु रहेको जनाइएको छ ।
अभियानले मध्य र दक्षिणी गाजामा दोस्रो चरणको पहिलो दुई चरणहरूको सफल कार्यान्वयन गरिसकेको छ ।