डा. विश्व पौडेल ।
विसं २०७३ सालको लक्ष्मीपूजाको दिन हाम्रो देशमा लोडसेडिङ अन्त्यको शुरुवात भएको दिन जस्तै मानिन्छ। यो सुखद कुरा हो । विसं २०६४ मा सर्वेक्षणदेखि उत्पादन र पिपिएसम्मका प्रकृयालाई सरलीकरण गर्ने घोषणा गर्दै एक दशक भित्र ५ हजार मेगावाट विजुली उत्पादन गर्ने घोषणा गरिएको थियो । २०६५ सालमा दश वर्षमा १० हजार मेगावाट विजुली आयोजना उत्पादन गर्ने कार्यक्रम ल्याइयो । अघिल्लो वर्षकै लक्ष्यमा केही प्रगति नभएको बेला त्यसरी लक्ष्य परिमार्जन गर्न खासै कुनै कारण थिएन तर पनि गरियो । विसं २०६६/६७ को वजेटमा उक्त लक्ष्य परिमार्जन गरी विसं २०८६/८७ भित्र कम्तिमा २५ हजार मेगावाट विजुली उत्पादन गर्ने भनियो । यो परिमार्जन पनि कुनै आधार विना गरिएको थियो । विसं २०७३ को बजेटमा विसं २०८३ भित्र रन अफ द रिभरबाट ६ हजार मेगावाट र स्टोरेजबाट चार हजार मेगावाट गरी दश हजार मेगावाट विद्युत उत्पादन गर्ने अर्को लक्ष्य सरकारले प्रस्तुत गर्यो ।
सरकारले वर्षैपिच्छे फरकफरक घोषणा गरिदिँदा सरकारको विश्वसनियता कमजोर बन्दै गएको थियो । जनताले हाम्रो देशमा लोडसेडिङ अन्त्य हुन्छ भन्ने कुनै पनि घोषणा पत्याउन छोडेका थिए । तर यि सवैभन्दा पृथक घोषणा डा. रामशरण महतले २०७१ को बजेट ल्याउँदा गरेका थिए। उनले ‘उज्यालो नेपाल समृद्ध नेपाल’ अभियान अन्तर्गत २०७४ सालभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका थिए । तीन वर्ष भित्र ११८८ मेगावाट विजुली अतिरिक्त उत्पादन हुने र ढल्केबार–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत आयात गर्न सकिने भएकोले उनी उक्त घोषणाप्रति आशावादी थिए। २०६४ को घोषणा, जुन realistic थियो, पनि डा. महतले नै गरेका थिए , र भयो पनि लगभग त्यस्तै ।
वास्तवमा विद्युत प्राधिकरणकै कतिपय हाकिमहरु लोडसेडिङ अन्त्य हुन्छ भन्नेमा विश्वस्त थिएनन् ।
मेरो विचारमा कुलमानजीलाई तत्कालिन प्राधिकरणको नेतृत्वकर्ताको रुपमा यसको जश गएको ठिक छ । उनी लगायत विद्युत प्राधिकरणका विभिन्न नेतृत्वकर्ताहरु, राजनीतिक तथा ब्यूरोक्रेटिक नेतृत्व (मुख्यगरी भारतसँग छलफल गर्ने) सवै मिलेर यो लक्ष प्राप्त भएको थियो । बहुदल कालमा हामीले गरेको सवैभन्दा महत्वपूर्ण प्रगति पनि उर्जा क्षेत्रकै हो । २०४७ सालमा ९ प्रतिशत घरधुरी मात्र विजुलीले जोडिएका थिए, चाँडै नै अफ ग्रिड सहित गरी लगभग शत प्रतिशत जोडिनेछन् ।