काठमाडौँ । दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपअन्तर्गत जारी नेपाल र बङ्गलादेशबीचको फाइनल खेलको पहिलो हाफ सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो ।
दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । खेलको पहिलो मिनेटमै गीता राना गोलकिक गर्ने क्रममा चिप्लिन पुग्दा उनको प्रहार सिधै तोहुरा खातुनको खुट्टामा पुगेको थियो । उनको प्रहार क्रसबारलाई लाग्दै फर्कियो । रिबाउन्ड बलमा रोहुराकै हेडर गोलकिपर एन्जिला तुम्बापो सुब्बाले समातेपछि संकट कटेको थियो ।
दशौँ मिनेटमा अमिषा कार्कीले डी-बक्स क्षेत्र बाहिरबाट गरेको प्रहार क्रस बारमा लाग्दा नेपालले अग्रता लिने मौका गुमाएको थियो ।