जेपी गुप्ता ।
राजनीतिमा शायद यो मेरो जीवनभरका अनुभवहरूको यो एक पक्ष हो । नेपालमा भएका आज पर्यन्तका सबै महत्वपूर्ण परिवर्तन, जसले राजनीतिक संरचनालाई बदल्न सक्यो–त्यसको निर्णायक शक्ति तलका सात पक्षहरू मध्ये अधिकांश वा बढी पक्षहरूको सम्मिलित प्रयास अथवा सहकार्यबाट मात्र संभव भएको हो। ति हुन्ः
१. खस–आर्य समुदाय, २. न्यायालय–अदालत, ३. निजामती कर्मचारीतन्त्र, ४. सुरक्षा निकायः नेपाली सेना–नेपाल प्रहरी, ५. खस–आर्य समुदायका उद्योगी व्यवसायी, ६. भारत र, ७. चीन ।
रङ्कहरू राजामा बदलिएको बदलाव होस् वा राजा रङ्कमा ओर्लिने घटना होस्–माथिका सात पक्षहरू मध्ये सबैको वा उपर्युक्त मध्ये धेरैको सहमतिबाट मात्र त्यस्ता परिवर्तन सम्भव भएको हो । यसबाहेक धेरैलाई लाग्दो हो, हैन् म वा हामी बदलावका बाहक हौं ! यो बेकार कुरो हो । बाँकी सबै ‘सामेल बाजा’ हुन् । सामेल बाजा, अर्थात् मर्मज्ञ संगीतकारहरूको बाद्यवादनका साधनहरूका साथको शोभा यात्रामा संगीत नजान्नेहरू पनि सामेल भएर संगीतज्ञको हाऊभाव देखाए जस्तो । आदिवासी–जनजाति, मधेसी, दलित–बहिष्कृत, बालेन, हर्क र रवि सबै सामेल बाजाहरू हुन् ।
रवि लामिछाने नेपालका राजनीतिमा संभावनाका आँकलनहरूका साथ उदाएको एउटा नाम अवश्य थियो । मुलुकको गृहमन्त्री भए । लाग्दथ्यो, चन्द्रमासको अँध्यारो आकाशमा चाँदीको सेतो घेरा उदीत भयो ।उनको उज्वल भविष्यको मलाई कुनै ज्ञान त छैन । तर, मलाई लाग्दछ–उनको अतितले गर्दा होस् वा उनलाई ठेगान लगाउने राजनीतिक नियामकहरूका कारणले होस्, उनको अवतरण कठिन हुँदै गएको छ।
रवि खस–आर्य त अवश्य हुन्, तर नेपाली राजनीतिमा निर्णायकत्वका अनेकन् महान अनुभवहरू बोकेका खस–आर्य समुदायका असंख्य मध्येका एक ‘थर’ मात्र छ रविसँग । सात सूत्रमा रविको कुनै पकड वा पहुँच छैन । थुना रहँदा वा अब हुन सक्ने पुर्पक्षको थुनाका अवधिभरमै उनी राजनीतिका खेलाडीहरूसँग यथोचित तालमेल मिलाउन सकेनन् भने यो च्यांग्रा लखेट्याइमा रवि भुत्लिनेछन् ।