-सुवोधराज प्याकुरेल
संसारका अति धनाढ्यहरु अर्बौं दान गर्छन् र विश्व सञ्चार तिनको कोरश गाउँछ । विश्वको धनको ९५ प्रतिशत ५ प्रतिशत धनाढ्यको कब्जामा गइसक्यो । धनी गरीब बीचको खाडल बढदो छ । हाम्रा मीनबहादुर गुरुङ टिभीमा भन्नुहुन्छ ‘मेरो सम्पूर्ण आम्दानी तपाईंहरुको हो, म त भाडामा बस्छु। म काँग्रेस माओवादीको पनि घर बनाइदिन्छु।’
हामी ग्राहकलाई मूल्यमा छूट दिनुभए, नेपाली उत्पादकलाई विशेष संरक्षण गरिदिनु भए उहाँको दातब्य घरघरै पुग्थ्यो । अरु बिक्रेतालाई पनि प्रेरणा वा दवाब पुग्थ्यो, ३ करोड नेपाली अनुगृहित हुन्थे, होइन र ? शासकीय बल चाहिएकैले होला, जनताबाट लिने र पार्टीलाई दिने दानबीरता उहाँलाई प्यारो भयो । जनताले दिएको राजकीय अख्तियारीलाई दानबीरको दर्ज्यानी दिने काममा लगाएर आफ्नै दरबार बनाउनु पनि ज्यादती भएन र ?
अनि आफ्नो घर बनाउने भनेको आफ्नै हैसियत अनुसारको पो बनाउने होला । अर्काले सहयोग ऋण पनि होइन पुरापुर बनाइदिएको घरमा बस्नेले आत्मनिर्भरताको आत्मनिर्णयको स्वाभिमानको मेहनती श्रमजीवीको अनि जनताको सेवाको प्रतिष्पर्धामा श्रेष्ठताको कुरा गर्दा कानले सुन्ने तर मनमस्तिष्कले नसुन्ने हुँदोरहेछ । कानूनको अक्षर र शासकीय तागत देखाएर तर्साउने र तर्सिने युग सिध्याउन अकल्पनीय मिहेनत त्याग र सैद्धान्तिक महाभारतमा विजयी बन्नु भएका महामना प्रश्नमुक्त नायकहरुलाई रिस उठ्ला उठोस् ।
