म अभिनेता बन्ने कुरा त झन् पत्याएनन्ः दीपकराज गिरी

काठमाडौँ । पर्दामा देखेका सेलिव्रेटीलाई आफ्नै कक्षा कोठामा भेटेपछि सामुदायिक विद्यालयका विद्यार्थीहरु रमाएका छन् । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीहरुमा सिकाइप्रति रुचि जगाउन कार्तिक ४ गतेदेखि सुरु गरेको ‘फेस्टिभल क्याम्प’अन्तर्गत प्रभावशाली व्यक्तित्वसँगको साक्षात्कार कक्षाअन्तर्गत मंगलबार पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले पद्मकन्या विद्याश्रम डिल्लीबजारमा, चलचित्र निर्माता तथा अभिनेता दीपकराज गिरीले कोटेश्वरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा र गायक वाङ्देन शेर्पाले बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा गएर उत्प्रेरणात्मक कक्षा सञ्चालन गरे ।

कक्षामा उनीहरुले आफू अहिलेको ठाउँमा पुग्दा प्राप्त गरेका सफलता र उतारचढावका कथा सुनाए । कुनै ठाउँमा पुग्नका लागि तय गरिने यात्राको सहजताका लागि त्यसको तयारीले भूमिका खेल्छ । कुनै व्यक्तिको पेशागत यात्राको तयारी विद्यालय शिक्षा हो । अहिलेको अवसरलाई राम्ररी उपयोग गर्नुहोला । उनीहरुको सुझाव छ ।

‘सफल हुन लक्ष्य बनाउनु पर्ने, अनुशासन र लगनशीलतामा दृढ हुनु पर्ने, जीवनमा जुनसुकै पेशा अबलम्बन गरे पनि शिक्षा महत्वपूर्ण छ । यसलाई नछोड्नु होला ।’ उनीहरुले आफूलाई अरुसँग तुलना नगर्न आफूले आफ्नै लक्ष्यमा ध्यान दिन सुझाउँदै भने, ‘कक्षाहरुमा कहिले राम्रो नतिजा आउँछ । त्यो क्रमशः सुधार हुँदै जान्छ । यसमा चिन्ता लिनु हुँदैन । आफू के गर्दैछु, भविष्य कुन क्षेत्रमा राम्रो हुन्छ । त्यसमा आत्मविश्वाश जगाउनु पर्छ ।’

उनीहरुलाई विद्यार्थीहरुले, तपाईँको एसइइमा कति ग्रेड आएको थियो ?, कहिले फेल पनि हुनुभयो ?, सबैभन्दा राम्रो अङ्क कुन कक्षामा ल्याउनुभएको थियो ?, पढ्न मन नलागेर कहिले कक्षा छोड्ने सोच बनाउनुभएको थियो ? कला क्षेत्रका चुनौती कस्तो छन् ?, यहाँका सम्भावना के के हुन् ?, सेलिब्रेटी हुँदा मनमा आउने भाव कस्ता हुन्छन्? सेलिव्रेटीहरुलाई त नकारात्मक टिप्पणी पनि आउँछन्, कसरी सामना गर्नुहुन्छ? जस्ता प्रश्नहरु सोधेका थिए । विद्यार्थीहरुका प्रश्नहरुलाई उनीहरुले सहज रुपमा ग्रहण गरेर जवाफ दिएका थिए ।

म अभिनेता बन्ने कुरा त झन् पत्याएनन्ः दीपकराज गिरी

पढ्ने बेला मलाई गणित असाध्यै गाह्रो लाग्थ्यो । गणित नपढ्दा पनि हुनु नि जस्तो लाग्थ्यो । तर पनि नपढी सुखै थिएन । पढ्न त पढेँ । जतिञ्जेल गणित पढ्नु पथ्र्यो । त्यतिञ्जेल नै मलाई गाह्रो नै लाग्यो । त्यो बेलामा के पढेपछि कुन पेशा अपनाउन सकिन्छ भन्ने कुनै चेत थिएन । सोच थिएन । पढेको बेला लक्ष्य बनाउनै पाइएन ।

अरुले भनेका कुराले भन्दा जीवनमा सफल हुन आफ्नो मनले भनेका कुरा महत्वपूर्ण हुन्छन् । मेरै सन्दर्भमा कुरा गर्नुपर्दा मैले चलचित्र बनाउँछु भन्दा धेरै पत्याएका थिएनन् । म अभिनेता बन्ने कुरा त झन पत्याएनन् । कसैले रुपको कुरा गरे । कसैले उचाइको कुरा गरे । कसैले अनुहारको कुरा गरे । कसैले चालढाल मिल्दैन भने । यति सबै कुरा सुनेर पनि मैले आफ्नो लक्ष्यलाई छोडिन । निरन्तरता दिएँ । यही कारण अहिले नेपाली चलचित्र क्षेत्रमा स्थापित ठाउँ बनाउन सकेको छु ।
विद्यार्थी भाइबहिनीहरुलाई मेरो सुझाव चाहिँ तपाइँको सफलताले तपाईँको दृढता र कामप्रतिको निरन्तरताले प्रदान गर्ने भएकोले यसप्रति दृढताका साथ लाग्नू । तपाईँले सोचेको ठाउँमा एकदिन अवश्य पुग्नुहुनेछ ।

जीवन कहाँबाट कसरी मोडिन्छ थाहा हुन्नः श्रृङ्खला खतिवडा

सिकेको कुरामा टिक्न सक्नुपर्छ । टाढाबाट हेर्दा कुनै काम ठूलो देखिन्छ । नजिक पुग्दा त्यो सानो हुन्छ । अध्ययन त्यस्तै हो । एउटा तहलाई ठूलो देख्दा देख्दै त्यो सानो भएर अर्को ठूलो ठाउँ देखिन्छ । यसमा आत्तिनु हुँदैन । म सामान्य विद्यार्थी थिएँ । कक्षा ९ तिर हुँदा पाइलट बन्छु भन्ने लागेको थियो । धेरैले तँ राम्री छेस पाइलट होइन, एयर होस्टेज बन भन्थे । यसबेला पाइलटभन्दा माथिल्लो ठाउँमा पुग्नुपर्छ भन्ने लागेको थियो । तर त्यो ठाउँ कुन हो थाहा थिएन । कक्षा १० सम्म पनि भविष्यमा के बन्छु सोचेकी थिएन ।

मिस नेपालको प्रतिस्पर्धामा जानु अघि मैले पुल्चोक क्याम्पसबाट स्नातक तहको अध्ययन गरेकी हुँ । त्यहाँको इन्ट्रान्स परीक्षामा चौथो लिष्टमा नाम निस्किएको थियो । स्नातक उपाधि लिँदा पहिलो हुन सकेँ । यो मिहनेतको फल हो ।
मिस नेपालको प्रतिस्पर्धामा जानु अघि मैले मोडलिङ् गरेकी थिएन । राम्ररी फोटो सुट पनि गरेकी थिइन । तर क्याम्पसमा प्राप्त गरेको नतिजाले म मिस युनिभर्स हुन्छु भन्ने सोच आयो । म मिस नेपाल बन्नका लागि होइन, मिस युनिभर्स बन्नका लागि प्रतिस्पर्धामा गएकोले मिस नेपालको प्रतिस्पर्धामा सजिलै स्थान हासिल गर्न सकेकी हुँ । यसो भन्नुको अर्थ, ठूलो लक्ष्य लिँदा त्यससँग सम्बन्धित धेरै उपलब्धिहरु त लक्ष्य नबनाइ पनि प्राप्त हुन सक्छन् । यसकारण जीवन कहाँबाट कसरी मोडिन्छ थाहा हुन्न । तयारी भने गरिरहनु पर्छ ।

सकेसम्म मनले जे बन्न रुचाएको छ, त्यही पढ्नुः वाङ्देन शेर्पा

प्रयत्न (इफोर्ट), डेडिकेसन (समर्पण) र प्रतिवद्धता (कमिटमेन्ट) यी ३ वटा अस्त्र जुनसुकै पेशामा पनि चाहिन्छ । व्यक्तिलाई पेशामा मर्यादित बनाउने साधन यिनै हुन् । धेरै मानिसहरु सपनाको देश भनेर अमेरिका जान्छन् । म त्यही अमेरिकामा इञ्जिनियरिङ् अध्ययन गरेर फर्केको हुँ । यहाँ आएर पनि कमाइ राम्रो थियो । यससँगै गायन क्षेत्रमा काम गर्ने इच्छा पूरा गर्दै अभ्यास गर्न थालेँ । यहाँ पनि मेरा लागि राम्रो छ ।

तपाईँलाई अध्ययन चाहिन्छ । सकेसम्म मनले जे बन्न रुचाएको छ । त्यही पढ्नु । कहिलेकाहीँ जीवनको कुनै मोडमा अध्ययन गरेकोभन्दा अर्कै पेशाबाट पनि स्थापित हुन सकिन्छ । यसका लागि आफूलाई तयार राख्नुपर्छ ।
सामुदायिक विद्यालयको शैक्षिक नतिजा सुधारका लागि विद्यार्थीहरुमा सिकाइप्रति अभिरुचि जगाउन आवश्यक रहेकोले महानगरपालिकाले १६ वटा विद्यालयमा २ हजारभन्दा धेरै विद्यार्थी सहभागी गराएर ‘फेस्टिभल क्याम्प’ सञ्चालन गरिरहेको छ ।

क्याम्पमा सञ्चालन हुने विविध क्रियाकलापमध्ये ‘प्रभावशाली व्यक्तित्वसँग साक्षात्कार’ कार्यक्रम एउटा हो । यस कार्यक्रममा कला, साहित्य, संगीतसहित सामाजिक रुपान्तरणका लागि महत्वपूर्ण योगदान पुर्याउँदै आउनु भएका चर्चित व्यक्तित्वले प्रेरणादायी कक्षा सञ्चालन गर्नुहुनेछ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले बाहिरी संसारमा पुग्ने यो महत्वपूर्ण अवसर हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *