असार दोस्रो सातादेखि रेसुंगामा हवाई उडान प्रभावित, यात्रु समस्यामा

गुल्मी । विगत चार महिनादेखि गुल्मीमा हवाई उडान पटक-पटक अवरुद्ध बनेको छ । गत असारको दोस्रो सातादेखि जिल्लामा हवाई उडान प्रभावित भइरहेको छ । खराब मौसमका कारण लामो समयसम्म यसरी हवाई सेवा नियमित हुन नसकेपछि यात्रु थप समस्यामा परेका छन् ।

टिकट काटेर पनि पटक-पटक विमानस्थल पुगेर घण्टौँसम्म पर्खिनुपर्ने तर अन्तिम उडान स्थगित हुँदा निकै सास्ती पाइएको यात्रुहरूले बताउने गरेका छन् । चाडपर्वको समयमा समेत लगातार उडान अवरुद्ध भइरहेका छन्, जसले नागरिक आक्रोशित छन् ।

बाक्लो कुहिरो लागेर मौसममा खराबी आउने गरेकाले गत असार १४ गतेदेखि उडान सेवा अवरुद्ध बनेको रेसुंगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए । साताको दुई पटक नियमित उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण उडान गर्न नसकेको उनले जानकारी दिए ।

‘मौसम खराबीकै कारण गत असारको दोस्रो सातादेखि जिल्लामा जम्मा पाँच वटा मात्र हवाई उडान भएका छन् । मौसम ठीक होला भन्ने अपेक्षासहित रेसुंगा‐काठमाडौं र काठमाडौँ‐रेसुंगा आवतजावतका लागि टिकट काटे पनि अन्तिममा स्थगन हुँदाको समस्या हामीले महुसस गरेका छौँ तर मौसमको अवस्था हाम्रो नियन्त्रणमा हुँदैन’, स्टेशन प्रमुख थापाले भने ।

गुल्मी‐काठमाडौंका लागि नेपाल वायुसेवा निगमको १८ सिट क्षमताको ट्वीनेटर जहाजले उडान गर्दै आइरहेको छ । यात्रुको चापका कारण साताको चार पटकसम्म यहाँ उडान हुँदै आएको थियो ।

नेपाल वायुसेवा निगमले रेसुंगादेखि काठमाडौँका लागि सात हजार तीन सय र काठमाडौँबाट सात हजार पाँच सय रुपैयाँ भाडा निर्धारण गरेको छ । जिल्लामा गत एक वर्षअघिदेखि व्यावसायिक रुपमा नियमित रुपमा हवाई उडान सुरु गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *