खुर्कोटमा बेलिब्रिज निर्माण पूरा, सुरु भयो सवारीसाधन संचालन

मन्थली । रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटको बेलिब्रिज निर्माण सकिएर मंगलबारदेखि संचालनमा आएको छ ।

मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, ऊर्जा जलस्रोत तथा सिचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले बेलिब्रिज पुलको उद्घाटन गरेका छन् ।

रामेछापको मन्थली नगरपालिकाले बेलिब्रिज निर्माणमा सहयोग गरेको भन्दै नेपाली सेनालाई एक कार्यक्रमको आयोजना गरी धन्यवाद व्यक्त गरेको छ । बेलिब्रिज उद्घाटन भएसँगै सवारीसाधन चल्न थालेका रामेछापका प्रहरी प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिए ।

गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पुल सुनकोसी नदीमा आएको बाढीले रामेछाप पटीको भाग बगाएको थियो । बाढीले खुर्कोटको पुल बगाउँदा रामेछाप आवतजावत गर्न वैकल्पिक सडक दोलखा हुँदै र सित्खा पुल पार गरेर कष्टकर यात्रा गर्नुपरेको थियो ।

बेलिब्रिज पुल एकतर्फी सञ्चालन हुनेछ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ को बेतिनी जोड्ने करिब १८ करोडको लागतमा १० वर्षअघि बनेको सुनकोशीको १०० मिटर लम्बाइ रहेको पुल बाढीले ५१ मिटर बगाएको थियो ।

रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुङ्गाका केही भागलाई तराईसँग जोड्न बीपी राजमार्ग र मध्येपहाडी राजमार्गका लागि सुनकोसी नदीको पुलले सहज पार्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *