पाल्पामा भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक खेल हुँदै

रामपुर । पाल्पामा खेलकुदका क्रियाकलाप बढ्दै गएका छन् । खेलकुदमा खेलाडीको मनोबल बढाउन प्रतिस्पर्धात्मक रुपमा विभिन्न खेल सञ्चालन भइरहेका छन् ।

मण्डली स्पोर्टस क्लब पूूर्वखोला–१ सिलुवाको आयोजनामा पाल्पामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक रुपमा खेल हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीबीच प्रतिस्पर्धात्मक हुनेगरी खुल्ला क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोेगिता सञ्चालन हुने भएपछि खेलप्रेमीमा उत्साह बढेको छ ।

यही कात्तिक २१ देखि २४ गतेसम्म आठौँ मण्डली कप २०८१ सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीको सहभागिता रहनेछ । क्लबमार्फत जुनसुकै स्थानका खेलाडी पनि प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने अवसर रहेको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा विभागीय टोलीबाहेक अन्य जुनसुकै क्लबले पनि प्रतिस्पर्धा गर्न पाउने र विभागीय क्लबका खेलाडी पनि अन्य क्लबमार्फत प्रतियोगितामा सहभागी हुन पाउनेछन् । पुरुषतर्फ ६ वटा क्लब र महिलातर्फ ४ वटा क्लबको सहभागिता रहने क्लबका अध्यक्ष एवम् भलिबलका राष्ट्रिय रेफ्री अनन्तप्रसाद श्रेष्ठले बताए । उनका अनुसार प्रतियोगितामा १४ वटा खेल हुनेछन् ।

पुरुष भलिबल प्रतियोगितातर्फ प्रथम हुनेलाई १ लाख ५० हजार, द्वितीय पुरस्कार १ लाख, तृतीय पुरस्कार ७० हजार र सान्त्वना पुरस्कार ३५ हजार रहेको क्लबका सचिव कृष्णप्रसाद पँगेनीले बताए । यस्तै, महिलातर्फ प्रथम पुरस्कार ३० हजार, द्वितीय पुरस्कार २० हजार, तृतीय पुरस्कार १० हजार र सान्त्वना पुरस्कार ५ हजार रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *