अदालतबाट दोषी ठहर भएका व्यक्तिबाट जग्गा दान लिँदा भ्रष्टाचारको पक्षपोषण हुने ट्रान्सपरेन्सीको ठहर

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले अदालतबाट दोषी ठहर र मुद्दा चलिरहेको व्यक्तिबाट सरकारको नेतृत्व गरिरहेको पार्टीले जग्गा दान लिँदा भ्रष्टाचारको पक्षपोषण हुने ठहर गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनलले सोमबार विज्ञप्ति जारी गर्दै भ्रष्टाचारमा अदालतबाट दोषी ठहर भएका र मुद्दा चलिरहेका व्यक्तिबाट जग्गा दान लिनेजस्ता कार्यबाट अलग रहन पनि राजनीतिक दलहरूलाई आग्रह गरेको हो ।

विज्ञप्तिमा एमालेले केन्द्रीय कार्यालय निर्माणका लागि १० रोपनी १४ आना जग्गा लिएको र सोही जग्गामा दाताबाटै भवन निर्माण गरेर सोसमेत दान लिने कुराप्रति ध्यानाकर्षण भएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाल सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) को पार्टी कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा दान गरिएको र सो जग्गामा दाताकै तर्फबाट भवन निर्माण समेत दानको रूपमा गरिदिने भन्ने समाचारतर्फ ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । दान प्रदान गर्ने व्यक्ति नेपाल सरकार वादी रहेका विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेको र निजमाथि सोही प्रकृतिका थप विभिन्न मुद्दा न्यायिक प्रक्रियामा नै रहेको सर्वविदितै छ ।’

एमालेले केन्द्रीय कार्यालय रहने जग्गा र त्यहाँ बन्ने भवन अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यवसायी मीनबहादुर गुरुङबाट लिएको हो । त्यसरी दान लिँदा मुद्दामा प्रभाव पर्ने ट्रान्सपरेन्सी इन्टरनेसनलको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *