पर्यटन मन्त्रालयको एक सय दिन : आगामी यात्राको आधारशिला तयार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बितेको एक सय दिनमा नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक अगाडि बढाउनेदेखि पर्यटन र संस्कृतिसँग सम्बन्धित विभिन्न ऐन, कानुन तथा नीतिगत सुधारको सुरुवात गरेको छ ।

वर्तमान सरकार गठन भएको एक सय दिनमा पर्यटन मन्त्रालयले नीतिगत र संरचनागत सुधारको पहल थाल्दै आगामी यात्राको आधारशीला तयार गरेको हो ।

मन्त्रालयद्वारा निर्धारण गरिएका कार्यक्रमअनुरूप नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रूपमा अलग गर्नेसम्बन्धी विधेयक मन्त्रिपरिषदमा पेस भएको छ । पर्यटन ऐन र क्यासिनो नियमावली मस्यौदा मन्त्रिपरिषदमा पेस भएको छ । संस्कृति नीतिको मस्यौदा पनि मन्त्रिपरिषदमा पेस भएको छ ।

पशुपति क्षेत्र विकास कोष ऐनको संशोधन मस्यौदा तर्जुमा गरिएको छ । ग्रेट हिमालयन ट्रेलको पाँच किलोमिटर निर्माण भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

भूकम्पबाट क्षतिग्रस्त नौ सय २० पुरातात्विक महत्त्वका सम्पदाहरूमध्ये गत आर्थिक वर्षमा आठ सय सम्पदाको पुनःनिर्माण सम्पन्न भएकामा थप पाँचवटा सम्पन्न भएको मन्त्रालयको प्रगति विवरणमा उल्लेख छ । थप ५७ हिमालको आरोहण खुला गरिएको छ । मन्त्रिपरिषद् बैठकले छ हजार पाँच सय मिटरभन्दा तलका उक्त हिमाल आरोहण खुला गरेको हो ।

मन्त्रालय र मातहत निकायहरुको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण पुनरावलोकनका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ । पर्वतीय अनुमति प्रणालीलाई स्वचालित बनाइएको छ । सङ्घीय भाषा ऐनको मस्यौदा तर्जुमाको प्रक्रिया अगाडि बढाइएको छ । राष्ट्रिय महत्त्वका अभिलेखहरूको सङ्कलन सूचीकरण तथा वैज्ञानिक प्रविधिबाट रासायनिक तथा भौतिक संरक्षण एवं व्यवस्थापन गरिएको छ ।

लुम्बिनी विश्व सम्पदा संरक्षण कार्ययोजना कार्यान्वयनमा छ । अविरल वर्षा, बाढीपहिरोका कारण गोरखाको सामागाउँमा विचल्लीमा परेका एक सय ६३ जना विदेशी पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको, विमानस्थलमा अधिकतम क्षमतामा उडान सञ्चालन गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *