हाम्रो पार्टी कस्तो बनाउने एमालेजनलाई नै छोडिदिनुः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले पार्टीका बारेका चिन्ता नगर्न आलोचकहरुलाई आग्रह गरेका छन् ।

सोमबार सामाजिक संजालमार्फत महासचिव पोखरेलले राजनीति गर्नेहरुलाई आआफ्नो पार्टी राम्रो बनाउनेतर्फ लाग्न आग्रह गरेका हुन् । उनले भनेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरुले नेकपा(एमाले)को भविष्यकाबारेमा चिन्ता गर्दै सामाजिक संजालमा अनेकन् सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन् । राजनीति गर्नेहरुले आ आफ्नो पार्टी राम्रो बनाउन लागे त अरुकाबारेमा चिन्ता गर्नै पर्दैन नि । नेकपा(एमाले)लाई कस्तो बनाउने नेकपा(एमाले)जनलाई नै छोडिदिनु न । जनता के चाहन्छन् ? र राष्ट्रको आवश्यकता के हो ? नेकपा(एमाले)लाई राम्ररी थाहा छ । जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा(एमाले)ले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभंज्याङ यात्रा गरेकै हो । भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ ।’

त्यस्तै महासचिव पोखरेलले आफूहरु नेपाली जनताको आकांक्षा पुरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको बताएका छन् ।

उनले भनेका छन्, ‘जनताका बीचमा पुगेर तथा जनताको सुझाव ग्रहण गरेरनै नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रित छ । समृद्ध नेपाल सुखी नेपालीको नेपाली जनताको आकांक्षा पुरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ । तसर्थ, कुन पार्टी कस्तो भन्ने कुराको परिक्षण त सामाजिक संजालले होइन आवधिक निर्वाचनले गर्ने हो । त्यसका लागि नेकपा(एमाले) हरदम तयार छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *