गौरी प्रधान ।
क्रान्ति भन्नासाथ हामी सामान्य भाषामा परिवर्तन वा रुपान्तरण भन्ने बुझ्छौं । सबै खाले क्रान्तिको आ–आफ्नो लक्ष, उद्देश्य र प्रकृयाहरू हुन्छन् । कुनै पनि राजनीतिक पार्टीले कुनै पनि खाले ‘क्रान्ति’को उद्घोष गर्नुअघि सो बारे सार्वजनिक रुपमा त्यसको अवधारणा के हो स्पष्ट गर्ने चलन पनि छ । संसारमा सबैभन्दा धेरै किसिमका क्रान्तिहरू कृषि क्षेत्रमा नै भएको मानिन्छ । सन् १७५० सम्ममा संसारमा परम्परागत ढङ्गको कृषि उत्पादन हुने गर्दथ्यो । तर, सो दशकको मध्यतिर आइपुग्दा परम्परागत कृषि प्रणालीमा नयाँ कृषि औजार र सामग्रीहरुको विकासले गर्दा कृषि क्षेत्रमा छलाङ्ग मारेको तथ्य इतिहासमा उल्लेख गरेको छ । सो छलाङ्गलाई हामी कृषि क्रान्ति वा कृषि क्षेत्रमा भएको ज्ञानोदय भन्ने गर्दछौं । हुन त हाम्रो देशमा अहिले पनि समय समयमा कृषि क्रान्तिको विषयमा बहस, चर्चा र छलफल हुने गरेको छ नै ।
कृषि क्रान्तिमा भएका अनेकन परिवर्तन र स्वरुपहरु मध्य एक क्रान्तिको नाम हो ‘निलो क्रान्ति’ (Blue Revolution) । कृषि विकासको महायात्रामा निलो क्रान्तिको खास अर्थ भनेको विश्वमा जलीय कृषि उत्पादनको वृद्धि र विकास गर्नाको साथै त्यसको माध्यम विश्वमा खाद्य सुरक्षा कायम गर्नु हो । जलमा आधारित व्यवस्थित कृषिलाई एक्वाकल्चर (Aquaculture) अर्थात् एक्वाफार्मिङ (Aquafarming) पनि भनिन्छ । यो भनेको माछा, क्रस्टेसियन, मोलस्क र जलीय बिरुवाहरू जस्ता जलीय जीवहरूको उन्नत खेती हो।
यसबाहेक, कृषि क्रान्तिको इतिहासमा उन्नत र व्यवस्थित खेतीको निरन्तरताको रुपमा, निम्न रंगहरु अंकित विभिन्न क्रान्तिहरू पनि संचालित भएका थिए । जानकारीको निम्ति तल उल्लेखित विषयहरुसंग सम्वन्धित विभिन्न रंगहरुद्वारा चिनिने क्रान्तिहरूको नाम उल्लेख गरिएको छ । त्यसमध्येको एक निलो क्रान्ति पनि हो ।
१. हरित क्रान्ति – खाद्यान्न उत्पादन वृद्धि । उन्नत आधुनिक औजारको विकासको माध्यम खाद्यान्न उत्पादनमा वृद्धि ।
२. श्वेत क्रान्ति – दुग्ध उत्पादन वृद्धि ।
३. रजत क्रान्ति – अंडा उत्पादन वृद्धि ।
४. पीत क्रान्ति – तोरी उत्पादन वृद्धि ।
५. लाल क्रान्ति – टमाटर÷ गोलभेडा उत्पादन वृद्धि
६. कृष्ण क्रान्ति – बायो डिजेल उत्पादन वृद्धि ।
७. सुनौलो क्रान्ति – फलफूल उत्पादन वृद्धि ।
८. गुलाबी क्रान्ति – झिङ्गे माच्छा उत्पादन वृद्धि ।
९. खैरो क्रान्ति – मसला उत्पादन वृद्धि ।
१०.निलो क्रान्ति – जलीय कृषि उत्पादन वृद्धि ।
नेपालमा हालसालै राजनीतिक क्षेत्रमा चर्चा हुने गरेको ‘निलो क्रान्ति’ (Blue Revolution) को अर्थ सोही अर्थमा भनेको हो वा त्यसको अन्य कुनै राजनीतिक अर्थ पनि छ ? त्यो, थाहा हुन सकेन । तर, चर्चा भने व्यापक छ । यसबारेमा केही साथीहरुले ‘निलो क्रान्ति भनेको के हो ? भनेर प्रश्नहरु पनि राखेको देखियो ।
राजनीतिमा ‘निलो क्रान्ति’ के अर्थ हुन्छ भनेर अध्ययन गर्दा त्यसको खासै कुनै विशेष अर्थ भएको उदाहरण पाइएन । सन् २००० मा संयुक्त राज्य अमेरिकामा भएको निर्वाचनको दौरान रेड स्टेट (Red State), जहाँ अधिकांश मतदाताले रिपब्लिकन पार्टीलाई मत प्रदान गरेको थियो र ब्लु स्टेट (Blue State), जहाँ अधिकांश मतदाताले डेमोक्रेटिक पार्टीलाई मतदान गरेको थियो भनेर उल्लेख गरेको कुरा सुनेको, पढेको र देखेको पनि हो ।
तर, नेपालमा नवोदित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नामको राजनीतिक पार्टीले गर्ने भनेको ‘ब्लु रिवोलुशन’ को अर्थ के हो ? यसबारे, अध्ययन गर्न खोज्दा खासै कुनै प्रकाशित सन्दर्भ सामग्रीहरु कतै भेटिएन । कसैसँग सो बारेमा जानकारी वा दस्तावेज प्रकाशित भएको भए अध्ययनको निम्ति उपलव्ध गराई दिन हुन विनम्रताका साथ अनुरोध गर्दछु । त्यसो भए राजनीतिमा त्यसले विशेष अर्थ पनि राख्न सक्छ । त्यसैले, जिज्ञासा र ज्ञान प्राप्तिको क्रममा सहयोगी होस् भन्नाकाखातिर, यो संक्षिप्त जानकारी यहाँ उल्लेख गर्न खोजिएको हो । यसमा सरोकार राख्ने साथीहरूले सो विषयमा कुनै थप जानकारी भएको भए सहयोगको अपेक्षा गर्दछु । साथीहरुको सल्लाह, सुझाव र टिप्पणीहरु भने सभ्य, सरल र सृजनशील भाषामा होस् भन्ने सादर अनुरोध पनि गर्दछु। धन्यवाद ।
