सरकार जनताप्रति उत्तरदायी नभएको विपक्षी दलहरूको निष्कर्ष, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

काठमाडौं । विपक्षी दलहरूको बैठकले सरकार जनताप्रति उत्तरदायी नभएको निष्कर्ष निकालेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा शुक्रबार बिहान बसेको विपक्षी दलहरूको बैठकले सरकार विपद्मा उदासीन भएको र जनताप्रति उत्तरदायी नभएको निष्कर्ष निकालेको हो ।

माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सरकारले पार्टीगत र निहित स्वार्थमा मात्रै ध्यान दिएको बैठकले निष्कर्ष निकालेको जानकारी दिए । बस्नेतले सरकारलाई जनताप्रति उत्तरदायी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने बैठकमा सहमति भएको बताए ।

उनले भने, ‘सरकार विपदको पूर्वतयारीदेखि उद्धार, पुननिर्माणमासमेत उदासिन छ। जनताप्रति जवाफदेहीता छैन। सरकारका प्राथमिकता जनताका जनसरोकारका विषयहरूलाई सम्बोधन गर्ने र समाधान गर्नेतिर केन्द्रित नभएर सरकारले पार्टीगत स्वार्थलाई प्राथमिकतामा राखेको ठहर गर्दै समीक्षा भएको छ । यो सबै परिस्थितिलाई ध्यान दिएर तत्काल प्रतिपक्ष दलहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने समझदारी भएको छ।’

उनले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए । बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, उपमहासचिव शक्ति बस्नेत, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवि लामिछाने, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, रास्वपाका उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्ले, नेताहरू शिशिर खनाल, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायत सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *