अमेरिकाविरुद्धको पहिलो टी-२० आईमा नेपाल विजयी

काठमाडौं । अमेरिकाविरुद्धको टी-२० सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । शुक्रबार बिहान भएको पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले हराएको हो ।

जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रन मात्र बनाउन सक्यो । अमेरिकाको लागि शायाँ जाहान्गिरले सर्वाधिक ६० रन बनाए । उनले ३४ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।यस्तै एन्द्रेस गौसले ३०, मिलिन्द कुमारले २२ र जस्दिप सिंहले १६ रन बनाए ।

नेपालको लागि दीपेन्द्र सिंह एरीले ३ ओभरमा २७ रन दिएर ३ विकेट लिँदा रिजन ढकाल र करण केसीले समान एक/एक विकेट लिए ।

यसअघि ग्राण्ड प्रेरि स्टेडियममा भएको खेल टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । अन्तिम दुई ओभरमा सम्हालिन नसक्दा नेपाल विजयी लक्ष्य बढाउन असफल भएको हो । नेपालको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । उनले ३३ बलमा ४ चौका र एक छक्का प्रहार गरे ।

यस्तै दीपेन्द्र सिंह एरीले २८, आसिफ शेख र अनिल कुमार शाहले २७/२७ तथा गुलसन झाले ११ र कुशल भुर्तेलले १० रन बनाए ।

अमेरिकाको लागि सौरभ नेत्रभाल्कर, जस्दिप सिंह र हर्मित सिंहले समान दुई/दुई विकेट लिँदा अलि खान र नोस्थुश केन्जिगेले एक/एक विकेट लिए ।

अब दुई टोलीबीचको दोस्रो खेल आइतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *