कार्यालय बनाउन करौडौं रूपैयाँ चन्दा दिनु लिनु गुरूङ र सत्तासिन एमालेकै ‘महाभूल’ हो

-सुरेश आचार्य
हालै निधन भएका भारतका रतन टाटाबाट सिक्नुपर्थ्यो– भाटभटेनीका ‘सरगना’ मीनबहादुर गुरूङले । जुनबेला देशका हजारौ जनता बाढीले आक्रान्त भएका छन्, त्यस्तो बेलामा उनीहरूलाई राहत नदिई एमालेको पार्टी अफिस बनाउन करौडौ रूपैयाँ चन्दा दिनु लिनु उनको र सत्तासिन एमालेकै ‘महाभूल’ हो । मीनबहादुरजी आफ्नो बचाउको लागि दान दिन विवश भए होलान्, तर सत्तासिन सरकारको नेतृत्व गर्ने दल एमाले कसरी चुक्न पुग्यो ? अहिले मीनबहादुरजी विरूद्ध २ वटा संगीन प्रकृतिका सरकारवादी मुद्दा चलिरहेको रहेछ ।

सरकारबादी मुद्दा चलिरहेका व्यक्तिसँग सरकारको नेतृत्व गर्ने दलले यति ‘भारी रकम’ चन्दा लिएपछि, अब मुद्दा चलाउने प्रहरी वा अख्तियारले मुद्दा फिर्ता लिए भइगयो नि ! मुद्दा फिर्ता नलिए पनि अदालतले अब एमाले सरकारमा रहुन्जेल मीनबहादुर विरूद्ध कुन ताकतले विपरित फैसला गर्ने ? डा. भगवान कोइरालाको नेतृत्वमा बाल अस्पताल निर्माणका लागि गत वैशाख २८ मा ४१ करोड रूपैयाँ मीनबहादुरजीले चन्दा दिंदा सबैले उहाँलाई सच्चा दानबीर नै मानेका थिए । तर, कालो चस्मा भित्रको ‘राज’ ५ महिना नपुग्दै छर्लंग भयो ।

एमाले बाहेक अरू दललाई पनि चन्दाः
एमालेलाई चन्दा दिएको आलोचनाबाट बच्न ‘मैले अरू दलहरूलाई पनि चन्दा दिएको छु, म एमाले नै हुँ’ भनेर मीनबहादुरले अर्को गल्ती दोहोर्याउनु भएकोमा, म चाहिँ झनै स्तब्ध भएँ । अब उहाँले एमालेबाहेक कुन कुन दललाई कहिले के कति चन्दा दिनुभयो, त्यो जनसमक्ष सार्वजनिक गर्नुपर्छ । प्रत्येक राजनीतिक दललाई भ्रष्ट बनाउने काम मीनबहादुरबाट कसरी र किन भयो, नेपाली जनता जान्न चाहन्छन् ।

कमसेकम विश्वकै सबैभन्दा ठूला दानबीर रतन टाटा, जसले १०३ अर्ब अमेरिकी डलर मानवीय हितमा दान दिए पनि कुनै राजनीतिक दललाई कहिले कुनै दान दिएको देखिंदैन ! बील गेट्सले वा वारेन बफेटले पनि राजनीतिक दलहरूलाई दान दिएका छैनन् । मीनबहादुरजीले त्रिवि शिक्षण अस्पतालमा ७५ बेडको आँखा वार्ड बनाइदिँदा र बाल अस्पताललाई ४१ करोड रपैयाँ चन्दा दिँदा उनलाई गरिएको ‘वाहीवाही’, एमालेको हेडक्वार्टर बनाउन १ अर्ब रूपैयाँको जग्गा दिएर थप ८० करोड रूपैयाँको १४ तल्ले बिल्डिंग बनाइदिने कुरा चर्चामा आएसँगै मीनबहादुर गुरूङजीले कमाएको सम्पूर्ण ‘साख’ एकाएक गुम्न गएको छ ।

१४० करोड जनसंख्या भएको भारतमा रतन टाटा त्यसै महान बनिरहेका होइनन् । मृत्युपछि त झन्झन् महामानव बनेका छन् । उनलाई मरोपराणान्त भारत सरकारले ‘भारत रत्न’ मानपदवी दिनुपर्छ भन्ने अहिले भारतभर जनअभियान नै चलेको छ । जनताको मनमा त रतन टाटा, भारत रत्न बनि नै सकेका छन् । मीनबहादुरजीले अब कालो चस्मा खोल्ने कि ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *