हातमा मोबाइल बोकेर क्रान्तिको सपना होइन, जनताका कुरा सुनेर सोच्न थाल्ने मति नेपालमा कमजोर छ

डा. युवराज संग्रौला ।
दसैंमा हामी सद्बुद्धिको कुरा गर्छौं होइन र ? हामीमा सद्बुद्धिको संचार होस् र भ्रमबाट मुक्ति पाइयोस् । अहिलेको आवश्यकता देशमा उत्पादनद्वारा बौद्धिक र व्यावाहारिक परिवर्तनको जागृती निर्माण गर्नु हो । । नजानी नजानी मानिसले तर्क बेइमानी, कुतर्क, हेत्वाभाष, भ्रमज्ञान (स्युडो नलेज) फैलाएर समस्त समाजलाई अकर्मण्य, अल्छि र उल्टो सोचतिर बगाइरहेका हुन्छन् । केही उदाहरण

१. फलानालाई भोट दिनु, फलानालाई भोट नदिनु, फलानो राम्रो फलानो नराम्रो भनेर उता विदेशबाट छोराछोरी, नातिनातिनाले भने । तब त्यतै भोट हालें । तर राजनीति त नेपालमा छ । को ठिक र को बेठीक त नेपालमा बसेर जान्ने कुरा हो । परिवर्तन त नेपालमा हुने हो । अझ मतदान त आफ्नो अधिकार हो, यो त छोराछोरी नातिनातिनाको माया होइन नि ! नेपालमा लोकतन्त्रको दुरुपयोग हुनु ‘हाम्रो सोच नहुनु’ र ‘अरुको सोचको पछि कुद्नु हो।’

२. अर्को भ्रमित सत्य देखियो, यसपटक । ‘खोलाले आफैं न्याय खोज्यो। खोलाले देखाइदियो। खोलाका छेउमा घर बनाउँदा बाढी आयो।’ सत्य के हो ? सत्य हो, ‘विदेशी दातृसंस्थासँग् ऋृण लिएर, खोला साँघुरो पारेर पर्खाल लगाइ खोलाको बगर पुरेर सडक बनाउने सरकारी गलत नीति ।’ खोलाको तारिफ गरेर केही मानिसले “सरकारको गलत नीतिबाट जन्मिएको प्रकोप, इन्जिनियरिङ्ग विद्याको दुरुपयोग र भ्रष्टाचारको संरक्षण गरेको भएनर ?’ खोलाको बगर कसरी व्यक्तिका नाममा दर्ता भयो ? के खोला साँघुरो पारेर बाटो बनाएर जग्गा किनबेच गर्ने माफियाको भूमिका छैन । यिनै जग्गाका कतिपय विवादमा हिजो हक कायम गर्ने अदालत नै होइन ? नागरिकको जीवनलाई उन्नत बनाउने नगरमालिकहरुले गुरुयोजना घोषणा गरेका छन् ? शिरमा आग्ला अग्ला बाँधका योजना के हुन् ? शिरतिर जग्गा प्लटिङ्ग गर्दा माटो स्खलनले खोलाको पिँध कति माथि आयो ? के अध्ययन गरेको छ ? त्यो समाजलेमात्र प्रगति गर्छ, जसले समस्यालाई तथ्य मान्छ र त्यसको खोजपड्ताल गर्छ । हाम्रो दिमाग विकृत पुँजीवादी उपभोक्ताले बिगारेको छ। हाम्रो आर्जनको ९३.५ प्रतिशत उपभोग हुन्छ । हाम्रो बचत ६% जति छ । यही उपभोक्तावादी सोचले हाम्रो सोच्ने शक्ति समाप्त पारेको छ।

३. केही मानिसले समाजको परिवर्तन भनेको ‘जुलुस, र पार्टीका नाममा झुन्ड निर्माण गर्नु हो भन्ने देख्छन् । हतारहतार सत्ताको खोज मानिसका दिमागमा भरिएको छ। परिवर्तन जनताको बृहत हितका लागि होइन । मैले सत्ताको मोज गर्न पाइनँ भन्ने मन भित्रको कुण्ठाले मानिस ग्रस्त छन् । अबको राजनीति भनेको ‘काठमाडौंमा राज्यको अधिन गर्ने २०० वर्ष देखिको मोटाएको संभ्रान्त वर्ग छ, र त्यसमा २०४७ साल पछाडि राणा बनेका थुप्रै नेता, वकिल, डाक्टर, इन्जिनियर, जागिरे, पत्रकार, व्यापारी थपिएका छन् । यो संभ्रान्त वर्ग तोड्ने विचारसहितको रणनीति चाहिन्छ । काठमाडौंमात्र नेपाल होइन । देशमा थुप्रै काठमाडौं चाहिन्छ । विकासको नयाँ ढाँचा दिने विचार चाहिन्छ । यी कुरा दिमागमा पसेका छैनन् । कसैलाई मण्डलामा गएर निराश भीडका अगाडि पार्टी घोषणा गर्दा मान्छे जिन्दावाद भन्दै आउँछन् भन्ने लाग्छ ।

इतिहासको निर्माण मान्छेले/नेताले होइन, इतिहासले मान्छे/नेता बनाउँछ । समाजमा घटना जन्मिन्छन् सामाजिक कारणले । ती कारण भनेका अन्तरविरोध हुन् । तिनको विश्लेषणले विचार र रणनीति जन्माउँछ । समाजको बिद्रोह विचारले हाँक्छ, र सुसूचित विचारशील बिद्रोहले नेता जन्माउँछ । विचारशील बिद्रोहमात्र क्रान्ति –उन्नयन ? हो । विचार बिना राजनीतिक शक्ति बन्छ भन्ने कुरा ‘खानेकुरा बिना वनभोज जाने जस्तै’ भ्रम हो। यो भ्रमपनि फेसबुकमा खुब देखिन्छ । यसले धेरैको दिमाग बिग्रेको छ। बाघसँग लड्न जाँदा तयार गर्नुपर्छ, नत्र शिकार भइन्छ । हातमा मोबाइल बोकेर क्रान्तिको सपना होइन, जनताका कुरा सुनेर सोच्न थाल्ने मति नेपालमा कमजोर छ।

४. ‘राजनीति र कर्पोरेसन’ एउटै हुन भन्ने विद्वान पनि थुप्रै रहेछन् नेपालमा । पार्टीको संचालन ‘कम्पनीको बोर्ड र राजनीति स्टकमार्केट जस्तै हुन्छ भन्छन् ।’ तर राजनीतिक पार्टीले समाजका अन्तरबिरोधहरुको व्यवस्थापन गर्दै, मानिसको भौतिक र सामाजिक समृद्धिको खाका बनाउँछ र कार्यान्वयन गर्छ । यो कुरा गुगल र पश्चिमी ज्ञानले मात्र पुग्दैन, सिङ्गो समाज पढ्नुपर्छ । काठमाडौंमात्रै देश देख्ने यो संभ्रान्त त दिमागले होइन चिप्सले दुनियाँ चल्ने देख्छ। विचारको एउटा कोण हुन्छ। अतः एउटा राजनीतिक शक्ति तब जन्मिन्छ जब ‘त्यो शक्ति ले आफ्नो आधार (आंकाक्षी समूह, आर्थिक वर्ग, र तिनीहरु वरिपरिका जमात) पहिचान गर्दछ । कर्पोरेसन र जमातले राजनीतिक शक्ति बन्छ भन्ने कुरा पनि तर्क बेइमानी–फलेसी हो ।

५. अर्को कुतर्क हो राजनीति ‘पैसाबाट’ चलाउँछ । अहिले धेरै छन्, निर्वाचनमा पैसा खर्च गर्न उत्सुक । यिनको नियत कुरा परिवर्तनका गरेपनि सत्तानै हो । यही संरचनाभित्र आम्दानी गर्ने । पैसाले गर्ने राजनीतिले भोट किन्छ। मानिसलाई अफवाहको शिकार बनाउँछ । किन पैसा चाहिन्छ ? किन भने सामाजिक संजालबाट ढाँट कुरा गर्न ? ढाँट कुरा किन गर्ने ? भोट पाउन । अनि कसैको जम्मा लक्ष यति नै हो भने, ऊ अर्को दोग्ला मानिस हो, जसले ‘सत्तामा स्याललाई ब्वाँसोले बदल्छ ।’

असूचित समाजहरु तर्क बेइमानी, छल, भ्रमज्ञान, कुतर्क, र संकीर्णताबाट प्रेरित हुन्छन् । नेपाली समाजका हल्ला सुन्दा लाग्छ ‘नेता सनक, हल्ला, गाली, तमासा, दुस्साहस बाट जन्मिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *