मीनबहादुरसँग जग्गा ‘दान’ लिएर पार्टी कार्यालय निर्माण गर्ने एमालेको निर्णय सही कि गलत ?

काठमाडौँ । काठमाडौंको कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरमा नेकपा एमालेको केन्द्रीय कार्यालय निर्माण हुने भएको छ । भाटभटेनीका संचालक मीनबहादुर र सावित्री गुरुङले प्रदान गरेको १० रोपनी १४ आना जग्गामा भवन निर्माण हुने भएको हो । असोज २५ गते प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीे भवनको सिलान्यास गरेका छन् । ओलीले भवन सिलान्यास गरिरहँदा व्यवसायी गुरुङ भने घण्टी बजाउँदै थिए । कार्यक्रममा व्यवसायी गुरुङले आफूलाई विश्वास गरेर एमालेले केन्द्रीय कार्यालय भवन निर्माण गर्ने अवसर दिएको भन्दै धन्यवाद दिएका छन् । गुरुङले एमाले केन्द्रीय कार्यालय भवन ९ रेक्टर स्केलको भूकम्पलाई पनि धान्ने गरी निर्माण गरेर २०८२ सालको दशैँको घटस्थापनाको दिन एमालेलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘मैले आफ्नो कर्तव्य पूरा गरेको छु भन्ने मलाई लागेको छ । यो भवन ९ रेक्टरसम्मको भूकम्पलाई धान्नेगरी निर्माण हुनेछ । सबै विपदलाई हेरेर एकदमै अत्याधुनिक र सुन्दर भवन बनाई दिनेछौँ भन्ने प्रतिवद्धता जाहेर गर्दछौँ ।’

ललिता निवास जग्गा घोटाला प्रकरणको एउट मुद्दामा दोषी ठहर भएका र अर्को मुद्दा अदालतमा विचाराधीन रहेका गुरुङले दिएको जग्गामा एमालेले आफ्नो पार्टी कार्यालय बनाउन लगाएको भन्दै एमालेको आलोचनना भइरहेको छ । यसले एमालेलाई दूरगामी असर गर्ने कपियले टिप्पणी गरेका छन् । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा गुरुङलाई एउटा मुद्दामा विशेष अदालतले दोषी ठहर गर्दै २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ । त्यस्तै बालुवाटार जग्गा प्रकरणको अर्को मुद्दामा भने जिल्ला अदालत, काठमाडौंले दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ । उनको यो मुद्दा अदालतमा विचाराधीन छ । ललिता निवासको १४३ रोपनी जग्गा व्यक्तिका नाममा लगेर हिनामिना गरेको भन्दै ३१० जना विरुद्ध मुद्दा दर्ता गरिएको थियो। त्यसको मुख्य योजनाकार गुरुङ भएको भन्दै प्रहरीले प्रतिवेदन बुझाएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश कार्कीले जग्गा घोटालामा दोषी ठहर भएका व्यक्तिबाट जग्गा दान लिएर एमालेले आफ्नो पार्टी कार्यालय बनाउनु गलत भएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘मीनबहादुर गुरुङले जसलाई जति दान दिउन्, उनको इच्छा । तर सरकारवादी रहेको मुद्दाका आरोपीले त्यही सरकार चलाइरहेको एमालेलाई हालको बजार मूल्य अनुसार एक अर्बभन्दा माथिको जग्गा दिनु र एमालेले लिनु स्वार्थ बाझिन्छ कि बाझिन्न ? ललिता निवासको जग्गा लिएर फिर्ता दिएको भनेर जोगाएका विष्णु पौडेल रहेको पार्टी, सरकार चलाइरहेको पार्टी र एक पल्ट पक्राउ परेर अझै मुद्दा खेपिरहेका मीनबहादुर गुरुङबीचमा यसरी लेनदेन हुनु अनैतिक मात्रै हुन्छ कि गैरकानुनी पनि हुन्छ ? राजनीतिक दल सम्बन्धी ऐन अनुसार पनि यसमा निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छु । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाइरहेको व्यक्ति वा संस्थासँग सरकार चलाइरहेको दल वा कुनै पनि दलले चन्दा रकम वा अचल सम्पति दान लिन नपाउने हो कि कतिसम्म लिन पाउने हो भन्ने अब आउने संसद्को गम्भीर छलफलको विषय बन्नपर्छ ।’

राजनीतिक विश्लेषक मुमाराम खनालले एमालेले जग्गा पाएकोमा बधाई दिँदै व्यंग्य गरेका छन्, उनले भने, ‘एमालेले बल्खु दरबार रहेको जग्गा नबेचेको भए पार्टी कार्यालय त्यहीँ बनाउने वा बेचेको भए त्यसैले जग्गा किने भैहाल्थ्यो । जब पैसाको मुखमा नै चुम्बन गरेपछि भ्रष्टाचारको मुख नहेरेर इज्जत जोगिने होइन । जनताको जग्गा र ज्यान बगे पनि ठूलो जग्गा हात पारेकोमा एमालेलाई दशैंको भव्य शुभकामना !’

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले एमालेले व्यवसायीको जग्गा दान लिएको विषय जनताले ठिकबेठिक छुट्याउने टिपप्णी गरेका छन् । उनको टिप्पणी छ, ‘सम्पत्ति मीनबहादुरजीको व्यक्तिगत हो, उहाँले त्यसलाई आफ्नो इच्छानुसार जे पनि गर्न सक्नुहुन्छ तर कम्युनिष्ट भनेर जनतालाई चिनाउने दलले सरकारमै हुँदाहुँदै यो तहको ‘दान’ नमागेको भए हुने ! बाँकी त ठिक बेठिक के हो जनता जनार्दनले आफै बुझ्लान् ।’

वरिष्ठ पत्रकार राजेन्द्र दाहालको टिप्पणी छ, ‘मीनबहादुरबाट त्यति ठूलो ‘दान’ लिएर केपी ओली र शंकर पोख्रेलहरुले एमाले पार्टीको राजनीतिक स्वास्थ्यका निम्ति न्याय गरेको लाग्दैन । यसको असर दूरगामी हुनसक्छ ।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *