नारायण गाउँले ।
विदेशतिर नेता या सार्वजनिक व्यक्तिको जीवनशैली खर्चिलो र भड्किलो देखियो भने पहिलो प्रश्न र चासो उसले तिर्ने करबारे उठ्छ । उसको आम्दानीको स्रोत र खर्चबीच तादात्म्य छ कि छैन भन्ने प्रश्न उठ्छ । करोडौंको उपभोग्य वस्तु प्रयोग गर्न सक्ने हैसियत आम मानिसको भन्दा पक्कै ठूलो र असामान्य हुन्छ, त्यही अनुसार राज्यलाई कति कर तिरेको छ भनेर सोधखोज हुन्छ । उसको राजनीतिक विचार र जीवनशैली मेल खान्छ कि खाँदैन भन्ने नैतिक प्रश्न त्यसपछि मात्रै आउँछ । अझ ‘गिफ्ट’का रूपमा महँगो सामान त नेताका लागि नैतिक र वैधानिक दुबै रूपले अस्वीकार्य हुन्छ । नीतिगत र कार्यकारी निर्णय गर्दा कुनै न कुनै रूपले प्रभावित हुन सक्ने डरले नेताहरूलाई गिफ्ट, त्यसमाथि महँगो गिफ्ट दिनु र लिनु दुबै अनैतिक मानिन्छ । अहिले बेलायतका प्रधानमन्त्रीलगायतका नेताले पाएको खेलकुददेखि कन्सर्टसम्मको टिकटजस्तो सामान्य गिफ्टबारे पनि ठूलो आलोचना भइरहेछ । कतिले त फिर्ता समेत गरेका छन् । जबकी हामीकहाँ मन्त्री भएपछि टिकटबिनै अङ्गरक्षकसहित घुस्ने र सबैभन्दा अग्लो कुर्सीमा बस्ने परम्परा छ ।
हामीकहाँ नेताले आम्दानी त बिजनेसम्यानले भन्दा बढ़ी गर्छ, जीवनशैली पनि बिजनेसम्यानको भन्दा भव्य हुन्छ तर तिनले तलबको टीडीएसबाहेक अन्य कर तिरेको देखिन्न । जबकी तलबभन्दा दश गुणा बिलासी जीवन हुन्छ तिनको । कसैले दुई करोड़को एउटा ब्याग या जुत्ता किन्न सक्छ, तर त्यत्रो आम्दानी गर्नेले २० प्रतिशत मात्रै कर तिरेको रहेछ भने पनि ४० लाख कर बुझाएको हुनुपर्छ । एक लाख तलब खाने र दश हजार आयकर तिर्नेले दुई करोड़को चश्मा किन्ने हैसियत पक्कै राख्दैन । दुई करोड़को ब्याग र तीन करोडको घडी लगाउन सकिएला तर एक करोड़ ट्याक्स बुझाएको विवरण पनि देखाउन सकिए बल्ल त्यसको अर्थ हुन्छ । आम्दानी जति बढी भयो करको दर उति बढी हुन्छ । स्रोत खोज्यो भने गिफ्ट भन्यो, सकियो । दाइजो भन्यो सकियो । गिफ्ट या पुरस्कारमा त झन्डै २५ प्रतिशत कर नै हुन्छ । कमेडी च्याम्पियनमा कार जितियो भने पनि त्यसको कर तिर्नुपर्छ, नागरिकले कविता प्रतियोगितामा जितेको पुरस्कारको समेत कर लाग्छ ।
तर नागरिकले विश्वकै उच्च कर तिरे पनि नेताले कर तिर्नुनपर्ने गज्जबको नियम र मानसिकता छ हाम्रो । कसैले नेताको असामान्य खर्च, आयस्रोत र वैधानिक करबारे प्रश्न उठायो भने एउटा भक्त उठ्छ र भन्छ, यत्रो वर्ष राजनीति गरेको मान्छे जोगी हुन्छ त ? नेताले पाउने गिफ्टमा पनि कर हुन्छ त ?
फेरि जसले प्रश्न उठाउँछ त्यो पनि गडबड छ । उसले सिस्टम बसाउन, राजनीतिलाई नैतिक, स्वच्छ र जवाफदेही बनाउन होइन कि, आफ्नो पार्टीको नेताबाहेक अरूलाई औँला ठड्याउने अवसर आयो भने मात्रै उसको जीवनशैली बारे प्रश्न उठाउँछ । फलतः यस्तो प्रश्न र व्यङ्ग्यले कसैको एउटा रौँ पनि हल्लिन्न ।
अमेरिकामा सर्वशक्तिमान् राष्ट्रपतिको छोराले समेत करमा गडबडी गरेको भेटिए जेल जाने उदाहरण आँखा अगाडि आए पनि हाम्रो पाउपूजक मानसिकता जिउँदो हुँदासम्म देश, नेता र हाम्रो नियति यस्तै रहने हो ।
जनतालाई फजूल खर्च रोकेर आफ्नै संस्कृति र परम्पराविपरीत जनवादी विहे गर्न दबाब दिने सर्वहारा नेताले दुई तीन करोडको उपभोग्य वस्तु प्रयोग गर्दा त्यसको डिफेन्स गर्न त्यही मुट्ठी पड्काएर जनवादी विहे गर्ने भक्त आइपुग्नु पक्कै लज्जास्पद हुन्छ तर रोगी आँखा र छाती बोकेर लज्जाको कुरो धेरै गर्न मिल्दैन ।