अब सबैले ‘डाँफेज’ र ‘गैंडाज’ नै भन्ने ?

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिका गएका बेला प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए । त्यसक्रममा एकजना सहभागीले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले ‘गैंडाज’ र ‘डाँफेज’ शब्द प्रयोग गरेका थिए । त्यसपछि सामाजिक सन्जालमा प्रधानमन्त्री ओलीले अंग्रेजी नजानेको भन्दै उनलाई ट्रोल बनाइएको थियो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई ट्रोल बनाइएपछि एमालेजन यतिबेला त्यसको प्रतिरक्षामा उत्रिएका छन् । पार्टी महासचिव शंकर पोखरेलले प्रधानमन्त्री ओलीले अङ्ग्रेजी शब्द नआएर ‘डाँफेज’ र ‘गैंडाज’ शब्द प्रयोग नगरेको बताएका छन् । ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित नहुने भन्दै महासचिव पोखरेलले विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नुपर्ने उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘अमेरिका भ्रमणका क्रममा प्रधानमन्त्रीले अंग्रेजी भाषणमा ‘डाँफेज’ र ‘गैंडाज्’ शब्द प्रयोग गर्नु भएको सन्दर्भमा सामाजिक संजालमा प्रधानमन्त्रीलाई ती शब्दको अंग्रेजी नआएको भनेर उडाउने प्रयास भइरहेको छ । त्यस विषयमा सामाजिक संजालमा एक प्रकारको बहस समेत चलाउने प्रयास भइरहेको छ । तर प्रधानमन्त्रीले केही समय पहिले नेपालमा नै अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीहरुलाई सम्बोधन गर्ने क्रममा नै डाँफे र गैंडालाई अंग्रेजीमा समेत नेपाली नामबाटै सम्बोधन गर्नु उचित हुने विषय उठाउनु भएको थियो । उहाँको अमेरिका भ्रमणका सन्दर्भमा प्रयोग गरिएको सो शब्दलाई सोही परिप्रेक्षमा बुझ्नु पर्दछ । यद्यपी उहाँको त्यो विचारले अहिले नै मान्यता पाइहाल्छ भन्ने होइन । तर ज्ञान सिद्धान्त निर्माणमा पश्चिमाकरणको मान्यता मात्र ठिक भन्ने बौद्धिक मत उचित होइन । विश्वज्ञान सिद्धान्तको विकासमा एशियाली दृष्टिकोण आवश्यक छ भन्ने सत्यलाई बुझ्नु पर्दछ र त्यसलाई स्थापित गर्न निरन्तर प्रयास गर्नु पर्दछ ।’

प्रधानमन्त्रीको भनाईको प्रतिरक्षामा महासचिव पोखरेल उत्रिएपछि नेपाली सेनाको पूर्वजर्नेल राजेन्द्र थापाले आपत्ति जनाएका छन् । उनले यसमा प्रधानमन्त्रीको गल्ती भएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘डाँफे गैडाज मुद्दा होइन । गैंडाको प्लुलर गैंडाज हुन्न । गैंडा सबैभन्दा कम पाइने देश हो नेपाल । वन सिङ्गे गैडाज भनेको भए तेस्रो हुन्थे । एलिफेन्ट इन माउन्टेन भने बँदेल हो भनेको खोई तपाईंले ? धेरै रफु नभर्नुस् । गल्ती भयो । किनभने भाषा जाने पनि उच्चारणको फरकले भुल हुने कारण पुटिन जिनपिङ मोदी जापानी पिएमलगायतले आफ्नै भाषा प्रयोग गर्छन् ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश कार्कीले ‘डाँफेज’ र ‘गैंडाज’ शब्दको प्रयोग गलत भएको टिप्पणी गरेका छन् ।

यस्तो छ कार्कीको टिप्पणी

गैँडा (५ किसिमका हुन्छन् तर नेपालमा एकसिंगे गैँडामात्र पाइन्छ), यसलाई अंग्रेजीमा Greater one horned rhinoceros वा Indian rhinoceros पनि भनिन्छ । यसको वैज्ञानिक नाम Rhinoceros unicornis हो । २०२२ को एक अध्ययन अनुसार एकसिंगे गैँडाको संख्या ४ हजार १४ छ । भारतमा ३ हजार २ सय ६२ र नेपाल र भुटानमा गरि ७ सय ५२ । अब थाहा पाइसक्नु पर्ने हो, एकसिंगे गैँडा भारतको उत्तरी र नेपालको दक्षिणी भुभागमा पाइन्छ । कहिलेकाँही भुटानसम्म पुगे पनि एकसिंगे गैँडाहरूले भुटानलाई स्थायी बसोबास बनाएको भेटिएको छैन ।

डाँफे, Impeyan monal वा Impeyan pheasant वा Himalayan monal पनि भनिन्छ । यसको वैज्ञानिक नाम Lophophorus impejanus हो । डाँफे अफगानिस्तान र पाकिस्तानदेखि नेपाल, भारत, तिब्बत र भुटानसम्मको हिमालय श्रृंखलामा पाइन्छ । डाँफे नेपालको राष्ट्रिय पंक्षी हो भने भारतको उत्तराखण्डमा मुनाल भनिने यहि पंक्षी, प्रान्तीय पंक्षी पनि हो ।

वास्तविकता यो हो । तर केही मानिसहरू प्रधानमन्त्री खड्गप्रसाद ओलीको उक्साहटमा लागेर नेपालमा मात्र पाइने भएकाले ‘गैँडाज्’ र ‘डाँफेज्’ भन्नपर्छ भन्दै प्रतिरक्षामा उत्रिएका छन् । खोज्नु भने अफवाह फैलाउन प्रयोग भएकै इन्टरनेटको माध्यमबाट यो तथ्य थाहा पाइने थियो, तर खोज्दैनन् । युनानी दार्शनिक अरस्तुले ‘पुरुषका भन्दा महिलाका दाँत कम हुन्छन्’ भनिदिएकै भरमा वर्षौंसम्म मानिसले कुनै तर्क नगरी, आफ्नै दाँत नगनी बसे जस्तै अहिले अफवाह स्वीकारेर उल्टो प्रतिरक्षामा उत्रिएका छन् । इन्टरनेटको यो हदको दुरूपयोग सायद इन्टरनेटको सबै भन्दा भयंकर असफलता हो । र, कसैले सोधेकै छैन, नेपाली भाषा र नेपालीत्वप्रति त्यस्तो प्रेम हुने खड्गप्रसाद ओलीले आफ्नो नामको छोटकरी खप्र ओली नलेखेर केपी ओली किन लेखिरहेका छन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *