फ्रेन्चाइज भलिबल लिग आजबाट, ६ टोलीले सहभागिता जनाउँदै

काठमाडौं । पहिलोपटक आयोजना हुन लागेको फ्रेन्चाइज भलिबल प्रतियोगिता आजबाट काठमाडौंमा शुरु हुँदैछ । इन्फिनिटी ड्रिम्स प्रा.लि.को आयोजनामा हुन लागेको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदैछन् ।

आज हुने लिगको पहिलो दिन तीन खेल हुँदैछ । आज हुने पहिलो खेलमा काठमाडौं स्पाइकर्स र ललितपुर क्विन्स भिड्दैछन् । दोस्रो खेलमा मधेश युनाइटेड र कर्णाली एसभिस खेल्दैछन् भने तेस्रो तथा दिनको अन्तिम खेलमा चितवन र गण्डकी थन्डर्स प्रतिस्पर्धा गर्दैछन् । सबै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्ड हलमा हुनेछ ।

काठमाडौंको मार्की खेलाडीमा राष्ट्रिय टोलीकी सदस्य उषा भण्डारी, ललितपुरको सलिना श्रेष्ठ, मधेशको निरुता ठगुन्ना, कर्णालीको  सुम्रित्रा रेग्मी, चितवनको अरुणा शाही र गण्डकीको सरस्वती चौधरी रहेका छन् ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने लिग असोज १९ गतेसम्म चेल्नेछ । प्रत्येक फ्रेन्चाइज टोलीमा एक मार्की खेलाडीसहित कुल १२ स्वदेशी खेलाडी छन् । नेपाल भलिबल संघ र फ्रेन्चाइज लिगका प्रशिक्षकको छनोटका आधारमा ‘ए’, ‘बी’ र ‘सी’ ड्राफ्टमार्फत् प्रत्येक टोलीले घरेलु खेलाडी अनुबन्ध गरेको हो । विदेशी खेलाडीको अनुबन्धनमा भने खुला राखिएको थियो ।

प्रतियोगितामा कुल १८ जना विदेशी खेलाडीलेपनि सहभागिता जनाउँदैछन् । भारतबाट चार जना, टर्किए, रसिया र थाइल्यान्डबाट समान तीन/तीन तथा काजकिस्तान, ट्युनिसिया, बुल्गेरिया, अमेरिका र ग्रिसबाट समान /एकएक गरी कुल १८ विदेशी खेलाडीले लिग खेल्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *