जाडो यामअघि नै युक्रेनलाई सहयोग गर्ने इयू प्रमुखको भनाइ

युक्रेन । युरोपेली सङ्घ (इयू) का प्रमुख उर्सुला भोन डेर लेयेनले जाडो यामअघि नै किएभलाई थप सहयोग दिइने प्रतिवद्धता जनाएकी छन् ।

रूसले युक्रेनको ऊर्जा पूर्वाधारमा बमबारी अभियान जारी राखेका बेला युरोपेली सङ्घका प्रमुख भोन डेर लेयेनले सहयोगको वातावरण मिलाउन आफू किएभ आइपुगेको बताइन् ।

उनले सामाजिक सञ्जाल एक्समार्फत् रेल स्टेशनमा आफ्नो तस्बिरका साथ पोष्ट गरेको सन्देशमा भनिएको छ, ‘रूसले ऊर्जा पूर्वाधारलाई लक्षित गरिरहेको र युद्धको सरगर्मी बढिरहेको समयमा म किएभमा आठौं भ्रमणमा आएको छु । हामी युक्रेनको साहसिक प्रयासमा सहयोग गर्नेछौं। म यहाँ जाडो यामको पूर्वतयारीदेखि रक्षा, जी–७ ऋणमा प्रवेश र प्रगतिसम्म युरोपको समर्थनबारे छलफल गर्न आएकी हुँ।’

युक्रेनमाथि रूसको आक्रमण ३० महिनाभन्दा बढी समयदेखि जारी छ, युक्रेनले अहिले रूसको कुस्र्क क्षेत्रको केही भाग नियन्त्रण गरिरहेको छ भने मस्कोले पूर्वी युक्रेनमा आफ्नो पकड बलियो बनाएको छ ।

युक्रेनले आफ्ना सहयोगीहरूसँग सहयोगप्राप्त हतियारहरूको रूसी भूमिको गहिराइमा प्रयोग गर्न ‘वैधता’ दिन र सैन्य लक्ष्यहरूमा आक्रमण गर्न लबिङ गरिरहेको छ । तर ईयू राज्यहरू यस विषयमा विभाजित छन्। संयुक्त राज्य अमेरिका र बेलायतले यसलाई त्यसो गर्न अनुमति दिनेबारे छलफल गरिरहेका छन्।

बिहीबार युरोपेली संसदले एक प्रस्ताव पारित गर्दै युरोपेली सङ्घ (ईयू) का देशहरूलाई रूसभित्र सैन्य लक्ष्यमा आक्रमण गर्न पश्चिमी हतियार प्रयोग गर्न अनुमति दिन आग्रह गरेको थियो।

वासिङ्टनले हाल युक्रेनलाई आफूले सहयोग गरेका हतियारलार्ई युक्रेनको कब्जामा रहेका केही भाग र मस्कोको लडाकू अभियानसँग प्रत्यक्ष सम्बन्धित केही रुसी सीमा क्षेत्रका रूसी लक्ष्यमा प्रहार गर्न मात्र अनुमति दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *