संसदीय सुनुवाइ समितिबाट प्रस्तावित १६ राजदूतको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित १६ जना राजदूतहरूको नाम बहुमतले अनुमोदन गरेको छ । बिहीबार बसेको समितिको बैठकले १७ जना प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम अनुमोदन गरेको हो ।

श्रीलंकाका लागि प्रस्तावित रामकृष्ण भट्टराईको स्नातक तहको प्रमाणपत्र नभेटिएपछि अर्को बैठकमा मात्र निर्णय हुने बताइएको छ ।

समितिको निर्णयमा जसपा नेपाल र रास्वपाले दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ, मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमल्सिना, इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित र भारतका लागि प्रस्तावित राजदूत शंकर शर्माको नाममा फरकमत राखेका छन् ।

सरकारले चीनका लागि प्राडा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्मा, इजरायलका लागि डा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसका लागि जंगबहादुर चौहान, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहेम्फेको नाम राजदूतका लागि सिफारिस गरेको थियो ।

यसैगरी स्पेनका लागि सनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम सिफारिस भएको थियो । सुनुवाइ समितिबाट अनुमोदन भएका राजदूतको राष्ट्रपतिबाट नियुक्त भई शपथ हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *