अब सबै मिलेर झन् बढी काम गर्नुपर्नेमा घरघरमा दीपावली, सार्वजनिक बिदा र तामझाम गर्न के जरूरी छ ?

नारायण गाउँले ।
संविधान संशोधन गर्न पर्ने भन्दै दुई तिहाईको सरकार बनेको छ । अल्ली अघिसम्म मान्छे तिनै हुन् तर संविधान जोगाउन भन्दै सरकार बनाउँथे । नयाँ दल रास्वपाले समेत संविधानमा फेरबदल चाहेको छ । फेरि यही दुई तिहाईको सरकारले भएजतिका कलाकार र सेलिब्रेटीलाई प्रायोजन गरेर संविधानको बर्थडे मनाउन आग्रह गरेको छ, त्यो पनि घरघरमा दीपावली गरेर । संविधान बन्यो, ठीक छ । बेलायतजस्ता केही देशको नहोला, तर संसारका प्रायः सबै देशसँग संविधान छ । पञ्चायतको पनि थियो, त्यसपछि २०४७ को पनि थियो । हामीले आठ दश वर्ष लगाएर, खर्बौं रुपियाँ खर्चेर, साहित्य र राजनैतिक वादहरू घुसाएर एउटा कविताजस्तो अर्को संविधान बनायौं । गास, बास कपासदेखि स्वास्थ्य शिक्षासम्म सबै ग्यारेन्टी गर्ने भन्यौं । बोलेपछि या लेखेपछि गर्न पनि पर्छ भन्ने त हाम्रो संस्कारमैं छैन । देशको आवश्यकता, सम्भाव्यता र औचित्यभन्दा माथि उठेर जम्बो संरचना बनायौं । उत्कृष्ट भनेर बनाउनेले नै फेरि तलमाथि गर्नेबारे सोच्दैछन् ।

पाँच जना जम्मा भएर बन्ने सामाजिक संस्थाले पनि विधान बनाउँछ । त्यो सामान्य प्रक्रिया हो । देशको त तलबभत्ता खाएर, कामभन्दा कुरो बढ़ी गरेर बनेको संविधान हो । बन्दा ताली बजाउनु ठीकै थियो, किनकी बन्यो । अब सबै मिलेर झन् बढी काम गर्नुपर्नेमा उल्टो हरेक बर्थडेमा घरघरमा दीपावली, सार्वजनिक बिदा र तामझाम गर्न के जरूरी छ र ? मङ्गलग्रह पुगेका देशले समेत यस्तो फिजूल बर्थडे मनाएको थाहा छैन । करोडौंको ज्यान बचाउने क्यान्सरको कीमोथेरापी हामीले पत्ता लगाएको भए पनि लौ धेरै बाँचियो, एक दिन बिदा गरौँ भन्नु । संविधान बनाएको निहुँमा बिदा ? एकदिन देश बन्द हुँदा अर्बौंं रुपियाँ त्यसै खर्च हुन्छ । ऋण लिएर दीपावली ?

केही देशले स्वतन्त्रता दिवस मनाउँछन् । तर हामी गुलाम भएनौं । व्यवस्थाहरू त समयअनुसार फेरबदल भइरहन्छन् । गुलाम नहुनुको फाइदा एक दिन बढी काम गर्न पाइने भन्ने पनि त हुँदो हो । तर हामी लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र, संविधान, जनयुद्ध जस्ता डे नै डे मा मस्त छौं । कतै नभएको घरघरमा दीपावली रे ! आफ्नै बर्थडेमा त दीपावली गर्ने फुर्सत, पैसा र जाँगर हुन्न कतिलाई, संविधान सम्झेर गर्नु रे ।
खासमा हामीले जे जे भने पनि काम गर्न नपर्ने व्यवस्था नै हाम्रो लागि सर्वोत्तम व्यवस्था हो । लेखेको जति गर्नैपर्ने भए यसरी दीपावली र भाषण गर्ने फुर्सत हामीलाई हुने थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *