त्रिकोणात्मक सिरिजमा नेपालको लगातर दोस्रो हार

काठमाडौं । आईसीसी विश्वकप लिग–२ प्रतियोगितामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बुधबार राति भएको खेलमा नेपाल ओमानसँग १ विकेटले पराजित भएको हो ।

जितको लागि दुई सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओमानले ४९.५ ओभरमा ९ विकेटको क्षतिमा २ सय २३ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । ओमानको लागि जतिन्दर सिंहले ४१, काश्याप प्रजापतीले ३६, कप्तान अकिब इलायासले २९ तथा प्रतिक अथाभाले र शोइब खानले समान २६/२६ रन बनाए ।

नेपालको लागि गुलसन झाले १० ओभरमा २ मेडन राख्दै ४७ रन दिएर ५ विकेट लिए । यस्तै करण केसीले दुई तथा सन्दीप लामिछाने र आरिफ शेखले समान एक/एक विकेट लिए ।

यसअघि क्यानडाको म्यापल लिफ नर्थ–वेस्ट ग्राउन्ड (ए), किङ सिटी, अन्टेरियोमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा  २ सय २० रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्थशतकीय इनिङ खेल्दै ७२ बलमा ६० रन जोडे । उनले दुई चौका र चार छक्का प्रहार गरेका थिए । खेलको सुरुआतमा अर्जुन साउद तेस्रो ओभर खेल्दा पाँच रन बनाएर बाहिरिएका थिए । आसिफ शेख र भीम सार्की ११–११ रन बनाएर आउट हुँदा नेपालले १३ दशमलव ३ ओभरमा ३१ रन बनाउन सकेको थियो ।

त्यसपछि कप्तान पौडेलले आरिफ शेखसँग साझेदारी गर्दै नेपालको इनिङ्सलाई सम्हालेपछि सेखले ८८ बलमा ३५ रन बनाएर आउट भए । त्यसपछि ब्याटिङ गर्न आएका गुल्सन झाले ३५ बलमा ५३ रन जोडे । त्यसक्रममा उनले तीन चौका र पाँच छक्का प्रहार गरे । खेलको अन्तिममा सोमपाल कामीले २० रन तथा सन्दीप लामिछानेले ११ रनको योगदान दिएका थिए ।

जितसँगै ओमानले ५ खेलबाट ५ अंक जोड्दा नेपालको ६ खेलबाट २ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *