चीनको तीव्र विकासबाट नेपालले पाठ सिक्नुपर्नेमा नेताहरुको जोड

काठमाडौँ । नेपालले मित्रराष्ट्र चीनको तीव्र विकासबाट पाठ सिक्नुपर्नेमा जोड दिइएको छ ।  चीनका राष्ट्रपति सी जिन पिङले नेपाल भ्रमण गरेको  पाँच वर्ष पूरा भएको अवसरमा बुधबार आयोजित कार्यक्रममा राजनीतिक दलका नेताहरुले हिमालय पारिको असजिलो भूगोलमा पनि चीनले गरेको तीव्र विकासबाट नेपालले पाठ सिक्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा राष्ट्रियसभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सडक र रेलमार्ग विकास गरी चिनियाँ पर्यटक नेपाल भित्राउनुपर्नेमा जोड दिए ।

नेपाल र चीनबीच व्यापार एवं आवतजावतका लागि खुलेका १४ नाकाबाट तिब्बत क्षेत्रमा आवश्यक उत्पादन पठाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो । नेपालले चीन र भारत दुवै देशबाट फाइदा लिनुपर्ने उनले बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद शङ्कर भण्डारीले चीनले विकास निर्माणका क्षेत्रमा गरेको बहुआयामिकताबाट नेपालले सिकेर अघि बढ्नुपर्ने बताए । संस्कार र संस्कृतिबाट टाढा नगई चीनले जस्तै विकास निर्माण नेपालले गर्नसक्छ भनी देखाउने दिन आएको उनको भनाइ थियो ।

पूर्व मन्त्री एवं नेकपा (एमाले) का नेता आनन्द पोखरेलले नेपाल चीनबीच भएका सम्झौता कार्यान्वयन गरिनुपर्नेमा जोड दिए । नेपालले चीनसँग लिएको ऋण तिर्न नसक्ने भएपछि अनुदानमा बदल्न अनुरोध गर्न ढिलाइ गर्नु नहुने उनको भनाइ थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवं सांसद ध्रुवबहादुर प्रधानले चीनको विकासको गति हेरेर नेपाल अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ्छेङले नेपालसँग भएका सम्झौता कार्यान्वयन गर्न चिनियाँ सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । विकास निर्माणमा चीनले गरिरहेको सहयोग आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

आयोजक समितिका अध्यक्ष शोभित उप्रेतीले चीन विकास निर्माणमा अघि बढेकाले नेपालले त्यसबाट फाइदा लिनुपर्नेमा जोड दिए । कार्यक्रममा डा विक्रम तिमल्सिनाले ‘बीआरआइ’बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि पत्रकार ठाकुर बेल्वासेले टिप्पणी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *