नाइजेरियामा बस दुर्घटनामा परी कम्तीमा २५ बालबालिकाको मृत्यु

 

पैगम्बर मोहम्मदको जन्मोत्सव मनाउने मुस्लिम श्रद्धालुहरू बोकेको एउटा बस उत्तरी नाइजेरियाको कडुना राज्यमा दुर्घटना हुँदा कम्तीमा २५ बालबालिकाको मृत्यु भएको छ ।

तर धार्मिक तीर्थयात्राका आयोजकहरूले ४० जनाको मृत्यु र ३१ जना घाइते भएको बताएका छन् ।

नाइजेरियाको सडक सुरक्षा एजेन्सी एफआरएससीका स्थानीय कार्यालय प्रमुख कबिरु नादाबोले आइतबार तिजानिया सुफी सम्प्रदायका युवा अनुयायीहरू बोकेको बसले नियन्त्रण गुमाउँदा लेरे जिल्लामा एउटा ट्रकसँग ठोक्किएको बताए ।

“बसमा ६३ जना बालबालिका थिए र चालकले लापरवाहीपूर्वक गाडी चलाइरहेका थिए, उनले नियन्त्रण गुमाउँदा बस ट्रकसँग ठोक्कियो”, उनले भने, “तीमध्ये १५ जनाको घटनास्थलमै मृत्यु भयो भने घाइते ४८ जनालाई विभिन्न अस्पताल लगियो, तीमध्ये १० जनाको भोलिपल्ट मृत्यु भयो ।”

नादाबोका अनुसार बालबालिकाहरू क्वान्डार गाउँका थिए र पैगम्बर मोहम्मदको जन्मदिनमा हुने वार्षिक मौलुद उत्सवमा भाग लिन नजिकैको समिनाका सहर गइरहेका थिए ।

घाइतेहरूलाई विभिन्न अस्पतालमा लगिएकाले थप विवरण आउन नसकेको उनले बताए । तीर्थयात्राका आयोजकहरूमध्येका एक डिक्को दाहिरुले दुर्घटनामा ४० बालबालिकाको मृत्यु भएको र ३१ जना घाइते भएको बताए ।

“बसमा ७१ यात्री थिए र ३६ जनाको तत्काल मृत्यु भयो भने अन्य चार जनाको भोलिपल्ट मृत्यु भयो”, उनले भने, “गम्भीर घाइते भएका ३१ जनालाई अस्पताल लगिएको छ र तीमध्ये ११ जनाको अवस्था गम्भीर छ ।”

नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनुबुले पीडितका परिवार र घाइतेहरूप्रति समवेदना व्यक्त गर्दै ‘दिवङ्गतहरूको आत्माको शान्तिका लागि प्रार्थना’ गरे ।

नाइजेरियाको मर्मत गरिएका खराब सडकहरूमा तीव्र गति र ट्राफिक नियमहरूको बेवास्ताका कारण दुर्घटना हुने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *