हवाई दुर्घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ ।  सरकारले हवाई दुर्घटना जाँचका लागि अधिकारसम्पन्न उच्चस्तरीय समिति बनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले अहिलेसम्म भएका हवाई दुर्घटनामा बनेका जाँच आयोगका प्रतिवेदनले उठाएका सवालबारे अध्ययन गर्न उचचस्तरीय समिति बनाउने जानकारी दिए  ।

मन्त्रालयमा सामेबार सञ्चारकर्मीसँगको अन्तरक्रियामा उनले न्यायिक क्षेत्रका व्यक्तिको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति बनाउने र समितिले उठाएका विषयलाई सरकारले कार्यान्वयन गर्ने बताए । उक्त प्रयोजनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भइसकेको र चाँडै सार्वजनिक गरिने जानकारी दिए ।

मन्त्री पाण्डेले पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय समिति गठन हुने जानकारी दिए । उनले भने,’नागरिक उड्डयन क्षेत्रमा उच्चस्तरीय समिति बनाउनेगरी अहिले प्रक्रिया अगाडि बढेको छ, उक्त समितिले अहिलेसम्म भएका अध्ययनको पुनरावलोकन गर्छ, प्रणालीगत रुपमै समस्या छ की भनेर समीक्षा गरेर सरकारलाई आवश्यक सिफारिस दिनेछ, त्यसको प्रभावकारी कार्यान्वयन गरिनेछ ।’

उनले अबको अध्ययन पुराना अध्ययनलाई समेत आधार मानेर अहिलेको अध्ययनलाई निष्कर्षमा निकाल्ने उल्लेख गरे । उनले भने, ‘पुराना अध्ययनलाई समेत ‘रिफ्रेन्स’ दिएर कार्यदलले प्रतिवेदन ल्याउनेछ, व्यक्ति, मन्त्री, सचिव बदलिन सक्छन् तर अध्ययनको प्रतिवेदनले दिएको कार्यभार बदलिँदैन, सरकार र मन्त्रालयको कार्यभार बदलिँदैन, त्यसैले एउटा अविछिन्न उत्तराधिकारी संस्थाका रुपमा कार्यान्वयन गर्ने गरी अधिकार सम्पन्न समिति बनाउँछौँ ।’

‘अब परिणाम आउनेगरी काम गर्छु’

पर्यटनमन्त्री पाण्डेले मन्त्रालय र मातहत निकायबारे विस्तृत रुपमा बुझ्ने काम भएकाले अब परिणाम र प्रतिफल आउनेगरी काम गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘मन्त्रालयको जिम्मेवारी सम्हालेको दुई महिनाको अवधिमा मानसिक रुपमा, नीतिगत र संरचनागत रुपमा अध्ययन र तयारी भएको अवस्था छ, अब, परिणाम र प्रतिफल आउनेगरी काम गर्छु, कानुनलाई सर्वोपरि ठानेर नीतिगत निर्णयमा अगाडि बढ्छु ।’

पर्यटनमन्त्री पाण्डेले कतिपय क्षेत्रमा तत्कालै सुधार गर्नुपर्ने र केही निकायमा रणनीतिक सुधारको विषय भएकाले कानुनी र नीतिगत व्यवस्था गरी संरचनागत र व्यवस्थापकीय सुधार गरेर लैजाने बताए। मन्त्री पाण्डेले मन्त्रालय मातहतका निकायलाई गतिशील र प्रभाकारी बनाउन लागिपरेको बताए ।

दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रुपमा सञ्चालन गरिने

पर्यटनमन्त्री पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका  लागि विस्तृत कार्ययोजना अन्तिम चरणमा पुगेको जानकारी दिए ।

‘मन्त्रिपरिषद्ले दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको निम्ति पारित गरेको कार्ययोजनाबारे सम्बन्धित गृह, अर्थ, परराष्ट्र, श्रमलगायत मन्त्रालयले गर्र्नुपर्ने सबै कामबारे अन्तरमन्त्रालय छलफल भई कार्ययोजनालाई अन्तिम रुप दिन लागिएको छ’, उनले भने ।

निगमको समस्या समाधानका लागि मन्त्रालयले सकेसम्म पहलकदमी गर्दै व्यवस्थापकीय सुधारमा प्रयासरत रहेको र विमान अभावले उडान व्यवस्थापनमा देखिएको समस्यालाई हल गर्ने गरी काम गरिने उनले विश्वास व्यक्त गरे ।

नागरिक उड्डयन प्राधिकरण विभाजनसम्बन्धी विधेयक मन्त्रिपरिषदमा

मन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियमनकारी निकाय र सेवाप्रदायक निकाय बनाउनेगरी विभाजनसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा पुगेको र यसको चाँडै प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे । उनले पर्यटन नीति बनिरहेको र पर्यटन ऐनको मस्यौदा रायका लागि अर्थमन्त्रालयमा पुगेको जानकारी दिए ।

पर्यटनराज्यमन्त्री अरुणकुमार चौधरीले नीतिगत र संरचनागत सुधार गरी मन्त्रालय र मातहतको कामलाई परिणाममुखी बनाउन मन्त्रालयले भगिरथ प्रयास गरिरहेको बताए । उनले गुणस्तरीय र दिगो पर्यटनको विकासका लागि मुलुकको हवाई सेवालाई बलियो बनाई पर्यटकीय पूर्वाधार विस्तार गरिनुपर्ने धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *