नेपाल प्रिमियर लिग : मार्की खेलाडीको आज टोलीको टुँगो लाग्दै

काठमाडौं । फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग(एनपीएल)को आठ मार्की खेलाडीको आज नाम टुँगो लाग्दैछ । नेपाल क्रिकेट संघ(क्यान)ले आज दिउँसो १ बजे लक्की ड्र कार्यक्रम मार्फत मार्की खेलाडी कुन फ्रेन्चाइजीबाट खेल्छन् भन्ने टुंगो लगाउने जनाएको छ ।

शुक्रबार क्यान आठ मार्की खेलाडी सार्वजनिक गरेको थियो  । मार्की खेलाडीमा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह एरी, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, आसिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल रहेका छन् ।

पहिलो पटक नेपाल क्रिकेट संघ(क्यान) आफैँले आयोजना गर्न लागेको प्रतियोगितामा पोखरा, काठमाडौं, जनकपुर, लुम्बिनी, चितवन, सुदूरपश्चिम, विराटनगर र कर्णाली गरी आठ टोलीले सहभागिता जनाउँदै छन् ।

गत हप्ता अक्सनको मार्फतबाट नेपाल क्रिकेट संघ(क्यान) ले ८ फ्रेन्चाइज टोलीको मालिक घोषणा गरेको थियो ।

अक्सनमा पोखरालाई सर्वाधिक ३  करोड ३३ लाख ३३ हजार ३ सय ३९ रुपैंयामा नेपाल टी-२० प्रा.लिले खरीद गरेको थियो । त्यस्तै दोस्रो सर्वाधिक मुल्यमा काठमाडौंलाई कान्तिपुर पब्लिकेसन प्रा.लिले ३ करोड ३३ लाख ३ हजार ३ सय ३९ रुपैयाँमा पाएको थियो।

त्यस्तै एनपिएलको अर्को टोली चितवनको टिमको स्वामित्व चितवन मेडिकल कलेज (सिएमसी) ले १ करोड ७६ लाख १ हजार रुपैयाँमा  लिन सफल हुँदा विराटनगरको स्वामित्व एम ए डी ड्रिम स्पोर्टसले पाएको थियो । उसले विराटनगरलाई १ करोड ५१ हजार रुपैयाँमा खरिद गर्न सफल भयो । लुम्बिनीलाई फर्चुन हेल्थ केयरले १ करोड ८६ लाख ४ रुपैंयामा खरिद गर्दा जनकपुरलाई ड्रिम स्पोर्टसले २ करोड ५ लाखमा खरिद गर्‍यो ।

त्यस्तै कर्णाली फ्रेन्चाइजीको स्वामित्व हिमालयन बिल्डर्सले पाएको छ। उसले कर्णालीको स्वामित्व १ करोड ११ लाख ७० हजार रुपैयाँमा कर्णालीको स्वामित्व खरिद गरेको हो । त्यस्तै सुदुरपश्चिमलाई  इम्पायर स्पोर्टसले १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रुपैयाँमा आफ्नो स्वामित्वमा लिन सफल भयो । एनपिएल मंसिर १५ देखि पुष ६ गतेसम्म‌ हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *