रुसविरुद्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग नगर्न पुटिनको चेतावनी

बीबीसी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुसविरुद्ध लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति नदिन पश्चिमा देशहरूलाई चेतावनी दिएका छन्। ती देशले युक्रेनलाई क्षेप्यास्त्र उपलब्ध गराएका छन् ।

पुटिनका अनुसार रुसविरुद्ध ती क्षेप्यास्त्र प्रयोग गरिए द्वन्द्वको आधारभूत पक्षमा परिवर्तन आउने छ र नेटोले रुससँग युद्ध गरेको अर्थ लाग्ने छ । रुसी सरकारी टेलिभिजनले उनको धारणा प्रसारण गरेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडनले यसबारे शुक्रबार ब्रिटेनका प्रधानमन्त्री किअर स्टार्मरसँग ह्वाइटहाउसमा छलफल गर्ने अपेक्षा गरिएको छ। स्टार्मर अहिले अमेरिका भ्रमणमा छन् ।

युक्रेनी नेता भोलोदोमिर जेलेन्स्कीले पश्चिमा साझेदारहरूलाई सीमापारि रहेका निसानाहरूमा हमला गर्न उनीहरूले उपलब्ध गराएका लामो दूरीका क्षेप्यास्त्र प्रयोग गर्ने अनुमति माग्दै आएका छन् ।

पुटिनले युक्रेनी सेनासँग अत्याधुनिक, उच्च क्षमता र लामो दूरीका अस्त्र प्रयोग गर्न सक्ने सामर्थ्य नरहेको दाबी पनि गरे । पुटिनले नेटोका सदस्यराष्ट्रका सुरक्षा निकायहरू मात्रै ती क्षेप्यास्त्र प्रणालीको ‘फ्लाइट मिशन’सम्बन्धी निर्णय लिन सक्षम रहेको र यो विषय रुसमाथि क्षेप्यास्त्र प्रहार गर्ने अनुमतिमा मात्र सीमित नभएको दाबी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *