मधेश प्रिमियर लिगका लागि मुख्यमन्त्री सिंहको अग्रसरता

जनकपुर । क्रिकेट खेलको लोकप्रियता र प्रतिष्ठासँगै यसको बृहत् व्यावसायिकतालाई दृष्टिगत गरी मधेस प्रिमियर लिग (एपिएल) आरम्भ हुने भएको छ ।

मधेस प्रदेशमा एमपिएलको आयोजना गर्ने विषयमा मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दबीच छलफल भएको छ ।

जनमत पार्टीका उपाध्यक्ष इन्जिनियर दीपककुमार साह र क्यानका उपाध्यक्ष रोशन सिंहसमेतको सहभागितामा भएको मुख्यमन्त्री सिंह र क्यान अध्यक्ष चन्दबीचको यथाशीघ्र एमपिएलको आयोजना गरिने सहमति भएको छ । बैठकमा लिगको स्वरूप र वित्तीय रूपरेखाका बारेमा समेत चर्चा भएको हो ।

एमपिएलमा पाँचवटा टिमले खेल्ने र प्रत्येक टिममा दुईजनासम्म ए लेभलका खेलाडीको सहभागिता रहने तथा ती हरेक टिममा सातजना खेलाडी मधेस प्रदेशकै रहने तय गरिएको छ । एमपिएलका लागि अन्य प्रिमियर लिगजस्तै खेलाडीको चयन बोल बढाबढ प्रतिस्पर्धाका माध्यमबाट हुनेछ ।

मुख्यमन्त्री सिंहले एमपिएलबाट क्रिकेट खेलको गुणवत्ता, मनोरञ्जनको स्तर र आर्थिक योगदानमा बढोत्तरी हुने बताए । उनले लिगबाट खेलाडीको आर्थिक सुरक्षा, पर्यटन र आतिथ्यमा गुणात्मक वृद्धि र प्रदेशको अर्थतन्त्रमा टेवा पुग्ने विश्वाससमेत व्यक्त गरेका छन् । उनले एमपिएलबारे आधारभूत कुराको निक्र्योल भइसकेकाले छिटोभन्दा छिटो यसको आयोजन हुने जानकारीसमेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *