काठमाडौँ । एसियन बक्सिङ कन्फेडेरेशनको आयोजनामा संयुक्त अरब इमिरेट्सको अवुधावीमा हुने एशियन जुनियर तथा स्कुल ब्वाइज एण्ड गल्र्स बक्सिङ प्रतियोगितामा नेपालबाट चार जना पुरुष खेलाडी सहभागिता जनाउने भएका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टङ्कलाल घिसिङले मंगलबार आयोजित कार्यक्रममा सहभागी टोलीलाई देशको नाम उच्च राख्नेगरी खेल प्रदर्शन गर्न शुभकामना दिँदै बिदाइ गरे ।
यही भदौ ११ देखि २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न देशका १३ देखि १६ वर्ष उमेर समूहका करिब ४५० जनाभन्दा बढी खेलाडीको सहभागिता रहने बताएइको छ ।
प्रतियोगिताका लागि नेपालबाट देशभरका एक सय ७५ जना खेलाडीमध्ये उत्कृष्ट खेलाडीको छनोट गरेको नेपाल बक्सिङ महासङ्घका अध्यक्ष राम अवालेले जानकारी दिए ।
जसमा जुनियर ४६ केजी तौल समूहमा चन्दन शाही, ६० केजी तौल समूहमा शेरप गल्चेन शेर्पा, ८० केजीमा सर्यन वैद्य र ६१ केजी तौल समूहमा रोमस श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । यस्तै प्रशिक्षकमा रमेशदास श्रेष्ठ र निर्णायकमा धनकुमार मैनालीले भाग लिनेछन् । नेपाली टोली आज राति दुबई प्रस्थान गर्नेछन् ।