हिमाली बौद्ध शिक्षा र आधुनिक शिक्षालाई सँगसँगै लैजान विज्ञको सुझाव

काठमाडौं । नेपालमा हिमाली बौद्ध शिक्षालाई मूलप्रवाहीकरण गर्न विज्ञ तथा सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् ।

आइतबार नेपाल समाज मिडिया प्रालि(nepalsamaj.com)ले आयोजना गरेको ‘नेपालमा हिमाली बौद्ध बौद्ध शिक्षाः सम्भावना र चुनौती’ विषयक कार्यक्रममा उनीहरुले सरकारलाई हिमाली बौद्ध शिक्षाको विकासका लागि अपनत्व लिन सुझाव दिएका हुन् ।

कार्यक्रममा नेपाल बौद्ध महासंघका संस्थापक अध्यक्ष खेम्पो ग्युर्मे छुल्ट्रिमले आधुनिक र पश्चिमा शिक्षाका कारण हिमाली बौद्ध शिक्षा ओझेलमा परेको बताए । उनले यसबाट हाम्रो मौलिक सकिने त होइन भन्ने चिन्ता बढेको बताए । आधुनिक शिक्षालाई मात्र जोड दिँदा हाम्रो संस्कृति र परम्परा जोगाउन मुश्किल हुने भएकाले यसलाई मिलाएर लैजानुपर्नेमा जोड दिए । यसका लागि सरकारले अपनत्व ग्रहण गर्नुपर्ने उनको भनाई थियो ।

लुम्बिनी कलेज अफ बुद्धिजम् एण्ड हिमालयन स्टडिजका कार्यकारी अध्यक्ष डा. रमेश ढुङ्गेलले हिमालयको केन्द्र नेपाल भएको हिमाली बौद्ध शिक्षाको विकासमा जोड दिनुपर्ने बताए । उनले हिमाली बुद्ध धर्म सभ्यता तथा संस्कृतिसँग जोडिएको र यसले नेपालीको शिर उँचो राखेको बताए । उनले यसका लागि बज्रयान संस्कृतिलाई जगाउनुपर्ने बताए । पछिल्लो समय राजनीतिका कारण यसमा समस्या आएको भन्दै उनले राज्यले अपनत्व ग्रहण गरी यसलाई मूलप्रवाहीकरण गर्नुपर्ने बताए ।

नेपाल समाजका सल्लाहकार तथा बौद्ध विद्वान लोचवा पुण्यप्रसाद पराजुलीले हिमाली क्षेत्रको बौद्ध शिक्षालाई मूलप्रवाहमा ल्याउनुपर्ने बताए । उनले पर्यटन, संस्कृतिसँग सम्बन्धी चैत्य, गुम्बा तथा हिमाली क्षेत्रका पर्यटन व्यवसायीलाई मूलप्रवाहमा जोड्नुपर्ने बताए । उनले खस, मुस्ताङलगायतका क्षेत्रमा हिमाली शिक्षा उच्चस्तरमा पुगेको तर, त्यसलाई मूलप्रवाहमा जोड्नुपर्ने बताए । नीति निर्मातालाई हिमाली बौद्ध शिक्षाका बारेमा थाहा नहुनु बिडम्बना भएको उनको भनाई थियो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भुवन लामाले हिमाली क्षेत्रमा बौद्ध शिक्षा सभ्यता भएकाले यसको विकासमा ध्यान दिनुपर्ने बताए । उनले संस्कृत र बौद्ध दुवै शिक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिए । उनले इतिहासलाई नबिर्सी भविष्यमा राम्रो बनाउन वर्तमानमा काम गर्नुपने बताए ।

नेपाल बौद्ध महासंघका निवर्तमान अध्यक्ष आचार्य नोर्वु शेर्पाले प्राचीन समयमा नेपालमा बौद्ध शिक्षा राम्रो भएको र बीचमा राजनीतिका कारण केही बिग्रिएको बताए । उनले नेपालमा बौद्ध शिक्षा प्रणाली जेनतेन चलेकाले यसको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘हिमाली क्षेत्रमा यो बौद्ध शिक्षा आफ्नो ठाउँमा ठिक छ । तर यो शिक्षालाई सरकारले मान्यता नदिँदा अनाथ हो कि, बृद्धाश्रम हो कि जस्तो देखियो । त्यो पढेपछि जागिर के पाइन्छ त ? भनेर प्रश्न गर्छन् । जसका कारण हाम्रो शिक्षामा मूलप्रवाहीकरण भएन । त्यसैले यसलाई मूलप्रवाहमा ल्याउनुपर्छ । भोट भाषाको पढाइ सुरु गरौं भन्दा ‘कुन चरी’को नाम हो भन्छन् । यो बिडम्बना हो ।’

उनले यसको विकासका लागि पाठयक्रम राम्रो नभएको तथा विज्ञको अभाव रहेको बताए । सरकारले मूलप्रवाहमा आउन अंग्रेजी, गणित जस्ता विषय पनि पढाउनुपर्ने भनेकाले समस्या भएको उनले बताए । उनले भने, ‘राज्यले अंग्रेजी, नेपाली, विज्ञान सबै विषय पढाउन भन्छ । हाम्रो पढाइ निःशुल्क हो । तर अरु विषय पढाउन शिक्षक छैनन् । तलब दिनुपर्छ, तर हामीसँग बजेट हुन्न ।’ उनले भोट भाषालाई संस्कृत जस्तै महत्वपूर्ण भनेर बुझाउनुपर्ने बताए ।

बुद्ध वचन अनुवाद समितिका अध्यक्ष आचार्य टीका शेर्पाले अन्य धर्मको इतिहास ६ सात सय सय वर्ष भन्दा पुरानो नभएकाले बुद्ध धर्म धेरै पुरानो भएको बताए । उनले सुनले लेखेको प्रज्ञा परामिता सबै भन्दा पुरानो सम्पदा रहेको बताए । उनले बौद्ध शिक्षालाई मूलधारमा ल्याउन बौद्ध विद्वानहरुलाई पहल गर्न आग्रह गरे ।

बुद्ध प्रकाश फाउण्डेशनका अध्यक्ष खेन्पो पेमा ओसेलले बुद्ध धर्ममा ध्यान महत्वपूर्ण रहेकाले यसलाई दैनिक जीवनयापनमा उपयोग गर्नुपर्ने बताए । उनले भने, ‘ध्यानमार्फत डाक्टर, पाइलट बन्न नसक्ला । तर मनको डाक्टर बन्न सक्छ । अहिले डिप्रेसन, एनजाइटीको समस्या छ, तर बुद्ध धर्म सिकेमा यो समस्या आउँदैन । त्यस्तै बुद्ध धर्म भनेको पूजा गर्ने भन्ने मात्र बुझ्दा रहेछन् । त्यो मात्र होइन । ध्यानबाट मात्र मान्छेले दुःखबाट मुक्ति पाउँछ ।’

लुम्बिनी बौद्ध विश्वविद्यालयका निवर्तमान उपकुलपति डा. हृदयरत्न बज्रचार्यले २१ औं सताब्दीमा बाँच्ने हो भने त्यसको चुरो कुरो बुद्धिजममा मात्र छ भनेर आइन्स्टाइनले भनेकाले त्यसबाट बुद्ध धर्मको महत्व कति छ भन्ने बुझ्न सकिने बताए । त्यसैले पनि बुद्ध धर्मको महत्वबारे हामीले संसारलाई बुझाउनुपर्ने बताए । बज्राचार्यले हिमाली बौद्ध शिक्षाबाट आर्जन गर्ने कुरालाई पनि जोड्नुपर्ने बताए । उनले भने, ‘यो पढेपछि के हुन्छ त ? यसका लागि भविष्य सुनिश्चित गराउनुपर्छ । तर सरकारले बजेट दिँदैन । दीगो बनाउनेबारे सोच्नुपर्छ र पढ्नका लागि आकर्षण पनि बढाउनुपर्छ ।’

लुम्बिनी कलेज अफ बुद्धिजम् एण्ड हिमालयन स्टडिजका संयोजक मोहनकुमार तामाङले तीर्थयात्रा गर्ने परम्परा हिमाली बौद्ध परम्परा भएको बताए । उनले यसलाई प्रणालीको रुपमा विकास गर्न सके यसले पर्यटन प्रवद्र्धनसमेत हुने बताए । उनले भने,‘काठमाडौंको फर्पिङ बोधगया जस्तै ठाउँ हो, तर खै हामीले चिनेको ?’

नेपाल बौद्ध महासंघका उपाध्यक्ष गेसे थुप्तेन जिन्पाले गुम्बाको शिक्षाप्रति सरकारले चासो नराखेको गुनासो गरे । उनले भोटभाषामा कक्षा एकदेखि विद्याबारिधीसम्मको पाठ्यक्रम तयार भएको र पनि राज्यका निकायले अपनत्व ग्रहण नगरेको बताए । उनले भने, ‘यहाँ स्नातक गरेर बेलायत, अमेरिका पढ्न गएका छन् तर हाम्रोमा अर्को विश्वविद्यालय जाँदा समकक्षतामा समस्या छ । तिमीहरुले पढ्न सक्दैनौ भन्छ । यो नीति बदल्नुपर्छ ।’

सुगत बुद्धिष्ट कलेजका प्राध्यापक मिलन शाक्यले हिमाली बौद्ध शिक्षाको गहन अध्ययन नभएको बताए । उनले त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयले यसमा ध्यान दिनुपर्नेमा जोड दिए ।

उनले हिमाली बौद्ध शिक्षा अध्ययनका लागि विदेश विद्यार्थी आउन चाहेपनि शिक्षक नहुँदा समस्या भएको बताए । उनले भने, ‘विश्वविद्यालयमा शिक्षक दरबन्दी छैन । शिक्षकको पेशा सुरक्षित छैन । विदेशी विद्यार्थी त आउँछन् तर हाम्रोमा अंग्रेजीमा कसले पढाउने ? विदेशीले पढ्न चाहन्छन्, तर हामी अंग्रेजीमा पढाउन सकिरहेका छैनौं ।’ उनले बौद्ध शिक्षामा सिद्धान्त मात्र नभई अभ्यास पनि सँगसँगै हुनुपर्ने बताए ।

   

Leave a Reply

Your email address will not be published. Required fields are marked *