काठमाडौं । लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलामा बाढी आएको छ । बाग्मती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ ।
जसका कारण पानी सडक किनार र बस्तीसम्म आउन सक्ने भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्नेहरुलाई बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहने तथा सबै प्रदेशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
सबै प्रदेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै सबै प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ । साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी र पहिरोको क्षतिबाट जोगिन विभागले आग्रह गरेको छ ।