काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत तत्वमध्ये विधिको शासन एउटा तत्व भएको बताएका छन् । बिहीबार संसदको विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषयक छलफलमा गृहमन्त्री लेखकले लोकतन्त्रमा कानुन बेगर मुद्दा चल्न नसक्ने बताएका हुन् ।
‘फाइल खोल्ने भन्या के हो ? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा मुद्दा कानुन बेगर चल्छ ?, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानुनबमोजिम चल्छ भन्ने मेरो आग्रह छ,’ उनले भने, ‘कुनै मुद्दा चलेको छ भने छट्नु पनि कानुनबमोजिम छुट्छ भन्ने मेरो आधारभूत मान्यता हो ।’
सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्न उत्प्रेरित गर्ने विषय भएको उनको भनाइ थियो । ‘यो विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भने, “समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।’
त्यसैगरी, प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उनले बताए । ‘कर्मचारीको सरुवा र बढुवा हुन्छ । कहिलेकाहीँ सामान्यतया अवधि तोकेको हुन्छ तर कहिलेकाहीँ अवधिभन्दा पहिले पनि हुन्छ,’ मन्त्री लेखकले भने, ‘जुन पदको सरुवाको कुरो छ उहाँ अत्यन्त योग्य मानिस हो र योग्यतम ठाउँमा पुग्नुभएको छ किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नि, प्रहरी राम्रो बनाउनु पर्यो । अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो ?’
उनले यो प्रक्रियालाई सामान्य रुपमा लिन आग्रहसमेत गरे ।