कमजोर शिक्षा नीतिको असर सबै क्षेत्रमा देखिइरहेको  छः अध्यक्ष बिजुक्छे

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको कमजोर शिक्षा नीतिको असर सबै क्षेत्रमा देखिइरहेको बताएका छन् ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप माध्यमिक विद्यालयमा आयोजित अभिमुखीकरण कार्यक्रममा उनले शिक्षा क्षेत्रमा भइरहेको व्यापक निजीकरण र व्यापारीकरण समस्याको रूपमा रहेको बताए ।

अध्यक्ष बिजुक्छेँले युवा विद्यार्थीहरू अध्ययन र रोजगारीको सिलसिलामा विदेशिने क्रम झन्झन् बढ्दै गइरहेको र उनीहरूलाई स्वदेशमै रोजगारीको बन्दोबस्त नगरेसम्म यो क्रमलाई रोक्न नसकिने धारणा राखे ।

“रोजगारीदेखि शिक्षाका लागि  विदेशिने क्रम बढ्दो छ । नेपालका कलेजहरू बन्द हुने अवस्थामा पुगेका छन् । विद्यार्थीलाई नेपालमै उच्च शिक्षा हासिल गरी देशकै लागि सेवा गर्न शिक्षकमार्फत मार्गनिर्देशन गरिरहनुपर्छ । रोजगारीका अवसर सिर्जना गर्न सरकारले पनि विशेष ध्यान दिन आवश्यक छ”, उनले भने ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप मावि र शारदा क्याम्पसमा २०८१ मा ५६ जिल्लाका एक हजार ६ सय ८० विद्यार्थी अध्ययन गरिरहेको बताए ।

कार्यक्रममा प्राडा सिद्धिवीर कर्माचार्यले सहिद स्मृति छात्रवृत्ति अक्षय कोष स्थापना गरी चार लाख ४४ हजार चार सय ४४ बराबरको छात्रवृत्ति रकम कलेजलाई हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *