नैतिक धरातलको स्खलन जहाज दुर्घटनाको प्रतिफल हो

डा. युवराज संग्रौला ।
अनेक दुर्घटना घटिरहेका छन् । बिग्रेको प्लेन पोखरा उडन उड्डयन प्राधिकरण अनुमति दिन्छ । मालिक कम्पनी बिग्रेको प्लेन उडाउँछ । कस्तो धन कमाउने ? कति धन कमाउने ? थोत्रा प्लेन किन ल्याउन दिने ? बाटोमा पहिरोले बस खोलामा खसाउँछ । सडकमा मोटरसाइकल ढलमा छिर्छ ।

१. के यी घटना संयोग मात्र हुन् ? होइन, यी घटना र तिनको पृष्ठभूमिमा रहेको अस्तव्यस्त शासन प्रणाली, त्यसको पछाडि रहेको विकृत राजनीतिक प्रणाली, त्यसको पछाडि रहेको भ्रष्ट भोटतन्त्रका पछाडि ‘समाजको भत्केको नैतिक धरातल छ।’

२. यो भत्केको नैतिक धरातलमा मानिसको ताँती छ, जो पैसाका लागि सबै इमान बेच्न तयार छ, अरुको खुट्टा तानेर पछार्न तयार छ, लुट्न तयार छ, र लुटेरालाई बचाउन सत्ता भ्रष्टाचार बोकेर तयार छ। समाजको चेतना बोक्ने शिक्षित मानिस आफ्नो अस्तित्व बेच्न तयार छ ।

३. मानिसमा लोभ र लालच मौलाएको छ । लालचका लागि मानिस द्वेश बोकेर उभिएको छ, अहंकार बोकेर उभिएको छ। ऊ सामाजिक बन्न चाह्न्न, ऊ देशभक्त बन्न चाहन्न । मानिसमा भ्रान्ती व्याप्त छ। ऊ सिनो बोक्न तयार छ, ऊ ढुकुरको शिकार गर्न तयार छ । ऊ हत्याबाट दाम कमाउन तयार छ । ऊ पद बेचेर सुन किन्न तयार छ।

४. उसलाई हरेक कुराको लोभ र लालच छ, केबल विचार र नैतिकता उसको लालचमा छैन । नैतिक धरातल सबै भत्काएर, सोच र विचार सबै नष्ट गरेर समाज सम्पन्न हुन सक्छ ?

उति बेला बुद्धले भनेका थिए, जब मानिसको सोच वा अवधारणा नै भ्रष्ट हुन्छ, त्यसले त मानिसलाई हिंसा, अन्याय, द्वेशको बाटोमा आकर्षित गर्छ। मानिसलाई स्वार्थी बनाउँछ, लालचको नशाले लाठी र हतियार बोक्न प्रेरित गर्छ । मानिसलाई भ्रष्टाचार गर्न प्रेरित गर्छ । नेपालमा आज भौतिक अभाव मात्र छैन । कुशासन मात्र छैन। मानिसमा निरासा मात्र छैन । यी सबैको पछाडि एउटा कारण छ, जसले मानिसको कर्मलाई कुकर्ममा परिणत गरेको छ। त्यो नैतिक धरातलको स्खलन । आजको प्लेन दुर्घटना पनि यसैको प्रतिफल हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *