राहदानी विभाग र फ्रान्स दूतावासको टोली पोर्चुगल आउँदै

 

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा दिन राहदानी विभाग काठमाडौँ र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोली पोर्चुगल आउने भएको छ ।

राजधानी लिस्बनमा घुम्ती सेवा शिविर सञ्चालन गरेर विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि दरखास्त सङ्कलन गर्न विभाग र दूतावासको संयुक्त टोली पोर्चुगल आउने भएको हो ।

लिस्बनस्थित रहेको अवैतनिक नेपाली महावाणिज्यदूतावासको समन्वय र सहजीकरणमा टोलीले यही अगस्त २ देखि ११ तारिखसम्म पोर्चुगलमा रहेर विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि दरखास्त सङ्कलन गर्ने पेरिसस्थित नेपाली दूतावासले जनाएको छ ।

घुम्ती सेवाका लागि विभागका निर्देशक मोतिबहादुर श्रीस नेतृत्वको तीन सदस्यीय टोली पोर्चुगल आउने तयारी भइरहेको फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले  जानकारी दिए ।

टोलीमा विभागका दुई र फ्रान्सस्थित नेपाली दूतावासका एक गरी तीनजना कर्मचारी सहभागी हुने बताइएको छ । पोर्चुगलमा रहेका नेपालीको राहदानीसम्बन्धी समस्यालाई समाधान गर्नका लागि परराष्ट्र मन्त्रालय र विभागले विशेष प्राथमिकता दिएर घुम्ती टोली पठाउन लागेको राजदूत भट्टराईले बताए ।

घुम्ती सेवा शिविरका लागि राजधानी लिस्बनमा इनरोलमेन्ट सेन्टरको स्थापना गरी विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि दरखास्त सङ्कलन गर्ने तयारी भइरहेको उनले बताए । शिविरबाट दुई हजार पाँच सय बढीको विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन हुने अनुमान गरिएको भट्टराईले बताए ।

टोलीले राहदानीको म्याद सकिसकेको, राहदानीको म्याद एक वर्षभन्दा कम भएको, क्षति भएको, हराएका र पोर्चुगलमा जन्मेका बालबालिकाको नयाँ राहदानीका लागि दरखास्त सङ्कलन गर्ने जनाएको छ ।

विद्युतीय राहदानीका लागि अनलाइन आवेदन फारम भर्न र अपोइन्टमेन्ट लिन राजदूत भट्टराईले आग्रहसमेत गरेका छन् ।

केही महिनाअघि पनि फ्रान्सस्थित नेपाली  दूतावासको टोली पोर्चुगल आएर एक सातासम्म  राहदानीसम्बन्धी सेवा प्रदान गरेको थियो । टोली आउने भएपछि राहदानी नवीकरण तथा नयाँ राहदानी बनाउन नपाएर समस्यामा परेका यहाँ रहेका नेपालीलाई राहत हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *