राष्ट्रिय स्वतन्त्र पार्टीमा जागेको करुणा भाव !

काठमाडौं । गत फागुन अन्तिम साता माओवादीले कांग्रेससँगको सत्ता सहयात्रा तोड्दै नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग समीकरण बनायो । गृहमन्त्री बने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने । त्रिभुवन विमानस्थलबाट भएको ६० किलो सुन तस्करीबारे छानबिन गर्न गठित आयोगले प्रतिवेदन गृहमन्त्री लामिछानेलाई बुझायो । लामिछाने गृहमन्त्री भएको केही दिनमै आयोगले प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न सिफारिस गरिएको थियो । महरा काठमाडौंबाट रोल्पा जाँदै गरेका बेला भैरहवाबाट पक्राउ गरेर काठमाडौं ल्याइयो । महरा पक्राउ परेपछि गृहमन्त्री लामिछाने र रास्वपाका नेताहरुले ठूलो माछा समाइयो भनेर खुब भाषण गरे । अदालतले सुरुमा महरालाई चार दिन थुनामा राख्न अनुमति दिएको थियो । त्यो पनि उनको स्वास्थ्य अवस्था कमजोर भएकाले अस्पतालमा बस्न दिन भनेको थियो । तर चार दिनपछि अदालत पेस गर्दा महराको म्याद थप भएन । उनी हाजिरी जमानीमा छुटे । महरा छुटेपछि गृहमन्त्री लामिछानेको खुब आलोचना भयो ।

आफ्नो आलोचना भएपछि लामिछानेले महरालाई मानवीय संवेदना र करुणाका आधारमा हाजिरी जमानीमा छाडेको बताए । उनले भनेका थिए, ‘८/१० वटा औषधि सेवन गरिरहनुभएको छ, अत्यन्त बिरामी हुनुहुन्छ, सम्मानित अदालतले पनि बिरामी हुनुभएको कुरा इंगित गरेको छ । राज्य निर्मम हुन सक्छ, कठोर हुन्छ, तर राज्यसँग करुणा भएन भने त्यो अन्याय हुन जान्छ । त्यसैले धेरै बिरामी अत्यन्त नाजुक स्वास्थ्य अवस्था भएको मान्छेलाई कसैको हाजिरी जमानीमा छाडेको कुरालाई अतिरञ्जित गर्नुपर्दैन ।’ महरा बिरामी भएको कुरा अदालतले हाजिरी जमानीमा छाडेपछि गृहमन्त्रीले थाहा पाएका हुन् त ? पक्कै होइन । किनकी महरा विरामी छन् भन्ने राम्रोसँग थाहा थियो । हुन त पछि सुन तस्करी प्रकरणमा महराको कुनै संलग्नता नदेखिएको भन्दै सीआईबीले मुद्दा नचलाउने निर्णय नै गर्यो । महरा प्रकरणमा रविको करुणा जाग्यो कि, राज्यको त्यो उनीहरुनै जानुन् ।

रवि गृहमन्त्री भएपछि सहकारी प्रकरणमा जोडिएको भन्दै ठूलो हंगामा मच्चियो । नेपाली कांग्रेसले दुई महिनासम्म सदन अवरुद्ध पारेपछि छानबिन गर्न संसदीय बन्यो । अहिले त्यो समितिले काम गरिरहेको छ । यत्रो विवादमा पर्दा पनि रविले आफू पदबाट अलग हुन चाहेनन् । ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो सार्वजनिक हुन्दा २४ घण्टामा पार्टीबाट निकालेको रास्वापाले पार्टी सभापतिकाबारेमा यत्रा प्रमाणसहित मिडियामा आउँदा उनीमाथि कुनै प्रश्न गरेन । बरु प्रश्न गर्ने मुकुल ढकाललाई महामन्त्री र प्रवक्ता पदबाटै हटाइयो । अरु प्रति करुणा भाव राख्ने रास्वपा मुकुलप्रति भने कठोर देखियो । बरु अरु दललाई गाली गरेर भाषण गर्नमै रास्वपाका नेता व्यस्त भए । बरु रविले आफूविरुद्ध कुनै उजुरी नपरेको भन्दै महान्यायाधिवक्ताको कार्यालयबाट पत्र लेखाए । जुन पत्र विरुद्ध सर्वोच्चमा मुद्दा नै पर्यो । त्यसको फैसला हुन बाँकी छ । यस प्रकरणमा पनि रविमाथि पार्टीको करुणा नै जाग्यो ।

अहिले कांग्रेस–एमाले मिलेर सरकार बनाएका छन् । माओवादी र रास्वपा सरकारबाट बाहिरिनु परेको छ ।
अब अर्को काण्ड सार्वजनिक भएको छ, रास्वपाकी नेतृ एवं उपसभामुख इन्दिरा रानाको । रानाले १७ महिनाअघि अमेरिकी दूतावासलाई अन्तर्वार्ताका लागि आफूसहित टीमका सदस्य, सांसद र सहयोगीहरू सबैजनाको अन्तर्वार्ता एकै दिन मिलाइन दिन अनुरोध गरेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छन् । उनले आफूसहित ६ जनालाई भिसा र अन्तर्वार्ताका लागि दूतावासमा पत्र लेखेकी थिइन् । आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेको पत्रमा उनले आफूसहित उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङका लागि उनले न्यूयोर्कमा हुने कार्यक्रममा जान भिसा लगाइदिन भनेकी थिइन् । रानाले युएन वमनको न्यूयोर्कमा हुने ६ मार्च २०२३ देखि १७ मार्चा २०२३ सम्म हुने सीएसडब्लु६७ मा भाग लिनका लागि भिसा दिन अमेरिकी दूतावाससमक्ष सिफारिस गरेकी थिइन् । पत्रमा भनिएको छ, ‘म आउँदो ६ मार्च देखि १७ मार्चसम्म अमेरिकाको न्यूयोर्कमा आयोजना हुने एनजीओ सीएसडब्लु६७ फोरममा जान लागिरहेकी छु । उक्त कार्यक्रमको अतिव्यस्त तालिकाका कारण म आफ्नो टीमका सदस्य, सांसद र सहयोगीहरू सबैजनाको अन्तर्वार्ता एकै दिन मिलाइन दिन पनि अनुरोध गर्न चाहन्छु ।’

उनले पत्रमा युएन वमनको उक्त कार्यक्रम नेपालबाट जाने सबै प्रतिनिधिका लागि एकदमै महत्वपूर्ण रहेको जिकिर गरेकी थिइन् । यो पत्र सार्वजनिक भएपछि रानाको राजीनामा माग गर्न थालिएको छ भने संसदको राज्य व्यवस्था समितिमा कारबाहीको माग गर्दै उजुरी परेको छ । सभामुख देवराज घिमिरेले पनि यसबारे थप बुझिरहेका छन् । यस्तो पत्र सार्वजनिक भएपछि उपसभामुख रानाले भने आफूले कसैलाई पनि भिसा दिलाउन भन्दै नेपालस्थित अमेरिकी दूतावासलाई पत्र नलेखेको बताएकी छन् । उनले भनेकी छन्, ‘मैले करुणाभावले सहयोग गर्न खोजेको विषयलाई उक्त पत्र लेखेको झण्डै डेढ वर्षपछि विवादित गराउन खोज्नु मविरुद्ध नियोजित कदम रहेको देखिन्छ ।’

रास्वापका तत्कालीन महामन्त्री मुकुल ढकालकाअनुसार उपसभामुख रानाले दूतावासलाई लेखेको पत्रबारे वैशाखतिरै पार्टी नेतृत्व जानकार थियो । अमेरिका लैजाने आश्वासन दिएर पैसा उठाएको र जान नपाएपछि एकजना पीडितले पार्टीमा उजुरी दिएपछि आफूले नेतृत्वलाई जानकारी दिएको ढकालले बताएका छन् । तर रास्वपा नेतृत्वले यो विषय गुपचुप राखेको पाइएको छ । पत्र बाहिरिएपछि भने रास्वापका नेताहरुले यसबारे आफूहरुलाई जानकारी नभएको र अब उपसभामुखसँग जानकारी लिने बताउन थालेका छन् । यस प्रकरणमा पनि उपसभामुखमाथि पार्टीको करुणा भाव देखिएको छ । यदि यो पत्र सार्वजनिक नभएको भए सामसुम हुने थियो । सुशासनका लागि नयाँ फाइल खोल्न लाग्दा अनि बेचन झा र प्रतीक थापा पक्राउ परेपछि सरकार ढालियो भन्ने रास्वपालाई उपसभामुख प्रकरण कुरीकुरी भएन र भन्या ?

राजनीतिक विश्लेषक डा. सूर्यराज आचार्य जानकारीमा आइसकेपछि गुपचुप राख्ने रास्वपाको यो नालायकी र बेइमानी भएको बताउँछन् । उनी भन्छन्, ‘उपसभामुखबाट मानव तस्करीको प्रयास, निकृष्ट काम ! जानकारीमा आइसकेपछि गुपचुप राख्ने रास्वपाको नालायकी र बेइमानी । यसबाट रास्वपाले पाठ सिकोस्, जनतासँग क्षमा मागोस् र उपसभामुखलाई राजीनामा दिन सुझाओस् । राज्यका पदमा बसेर यस्ता बदमासी गर्नका लागि त पुरानै दल थिए नि, नयाँ दल किन चाहियो ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *