सञ्चारमन्त्री गुरुङद्वारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गरेका छन् । सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज पदभार ग्रहणका क्रममा उनले सञ्चार तथा सूचना प्रविधि प्रणालीको सुरक्षित र प्रभावकारी प्रयोगका लागि मन्त्रालय सम्बद्ध निकायको कानुनी र संस्थागत पुनःसंरचना गर्ने निर्णय गरेका छन् ।

मन्त्री गुरुङले मातहतका कर्मचारीलाई प्रतिफल आउनेगरी क्रियाशील हुन निर्देशनसमेत दिए । “नेतृत्व तहबाट गर्ने सहयोगका लागि म सधैँ तपाइँहरूको साथमा छु । मन्त्रालयले प्रदान गर्ने सेवाको प्रभावकारिताका लागि कानुनी र संस्थागत सुधार गर्न यहाँहरूबाट भरपुर सहयोगको अपेक्षा गरेको छु, सोहीअनुसार आआफ्नो जिम्मवारी निर्वाह गर्नुहोला”, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव गुरुङले संविधान निर्माणपछि गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी २०७४ फागुन ४ गतेदेखि २०७८ जेठ २८ गतेसम्म मुख्यमन्त्री रहेका थिए ।

विज्ञान विषयमा स्नातक मन्त्री गुरुङले पञ्चायतकालमै २०३४ सालदेखि राजनीति सुरू गरेका थिए । उनी २०२७ सालमा इशानेश्वर प्रमोद हाइस्कुल, भोर्लेटार लमजुङमा अनेरास्ववियुकोतर्फबाट स्ववियु सचिव निर्वाचित भएका थिए ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत बनिसक्नुभएका गुरुङ प्रतिनिधिसभा निर्वाचन २०७९ मा लमजुङ निर्वाचन क्षेत्र नं १ बाट विजयी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *