मुकुलमाथिको कारबाही वैकल्पिक भनिने नयाँ दलको अराजनीतिक सोच !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री(हाल सबै जिम्मेवारीबाट हटाइएका) डा. मुकुल ढकाललाई मंगलबार बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । अनुशासन आयोगको सिफारिसअनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरु सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको गरेको हो । पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै १४ असारमा उनलाई पार्टी अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो । १९ असारमा केन्द्रीय समितिले नै महामन्त्री पदबाट ढकाललाई सात दिनका लागि निलम्बित गरेको थियो । अब अनुशासन आयोगमा पुनरावेदन गर्नका लागि ढकाललाई ३५ दिनको समय दिने निर्णय पनि रास्वपाले गरेको छ । त्यस्तै, ढकालको समीक्षा यात्रा प्रतिवेदनको स्वामित्व भने पार्टीले नलिने भएको छ ।

पार्टीले जिम्मेवारीबाट हटाउने निर्णय गरेपछि ढकालले आफू सभापति रवि लामिछानेको क्लबबाटमात्रै निस्काशित भएको प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि …।’

खासमा ढकालले देशका ३८ जिल्लाको समीक्षा यात्रापछि सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाए । पार्टीको जनमत खस्केको र आगामी चुनावमा राष्ट्रिय पार्टीसमेत बन्न नसक्ने निष्कर्ष प्रतिवेदनले रास्वपमा तरंग ल्याइदिएको हो । उनले सहकारी प्रकरणले मात्रै नभएर पार्टीले गरेका वाचा पूरा नगर्दा पनि जनतामा निराशा बढेको प्रतिवेदनमा उल्लेख गरेका छन् । प्रतिवेदनमा भनिएको छ, ‘सहकारीले मात्रै होइन, हामीले गरेको वाचाअनुसार काम नहुँदा निराशा बढेको छ । जनतामाझ जाँदा पार्टीको अवस्था संकटग्रस्त भएको देखेँ । हाम्राअगाडि ठूला चुनौती देखिएका छन् । मैले यसबारे नेतृत्वलाई घच्घच्याउन खोजेको छु ।’

उनले सरकारमा सभापति लामिछाने आफैं गएकामा पनि प्रश्न उठाएका थिए । प्रतिवेदनमा भनिएको छ, ‘जीबी राई कहिले समातिन्छन् ? समात्न सकिंदैनथ्यो भने प्रतिपक्षमा हुँदा किन म्याद नै तोकेर बोलेको ? सभापतिसँग भेट्नभन्दा नरेन्द्र मोदीलाई भेट्न सजिलो छ । सभापतिको सचिवालयमा मृदुभाषी भएनन् । यही सचिवालयबाट अगाडि बढे सभापतिबाट राजनीति सम्भव छैन । किन ग्यालेक्सीको टिम धेरै हाबी भयो ? सभापतिले विश्वासको दायरा बढाउन नसकेको हो ? सरकारमा गएपछि सोचेअनुरूप फाइल किन खोलिएन ? निर्मला पन्तलाई न्याय कहिले मिल्छ ? ब्लु बस र रोजगारीको कुरा कता पुग्यो ?’

यसरी पार्टी शुद्धीकरणका लागि आवाज उठाउँदा ढकाल कारबाहीमा परेपछि रास्वपाको आलोचना भइरहेको छ । दलका नेता तथा  राजनीतिक विश्लेषकहरुले रास्वपाको निर्णयबाट वैकल्पिक दलमा पनि अराजनीतिक सोच हाबी भएको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्य बोल्दा कांग्रेसमा कसैले पनि कारबाही भोग्न नपर्ने टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘कांग्रेस राम्रोसँग चलेको छैन । बलियो र विजयी बन्न हामीले ढंग बदल्नैपर्छ । यति सत्य बोल्दा कांग्रेसमा कसैले कार्वाही भोग्नुपर्दैन ! प्रश्न, आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखि यो समयसम्म कांग्रेस जीवन्त छ/रहिरहनेछ । रुपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौं हामी ।’

राजनीतिक विश्लेषक डा.सूर्यराज आचार्य अराजनीतिक जगमा उभिएको ‘राजनीति’ ले क्षणिक रमझम दिएपनि अपेक्षित परिणाम नदिने बताउँछन् । उनी भन्छन्, ‘ठूला/पुराना दलहरूमा उल्लेख्य सुधारको सम्भावना कम छ । वैकल्पिक भनिने नयाँ दलहरूमा पनि अराजनीतिक सोच/शैली हाबी छ । अराजनीतिक जगमा उभिएको ‘राजनीति’ ले क्षणिक रमझम देला, अपेक्षित परिणाम दिंदैन । समाजमा विवेक भन्दा असन्तोष, आक्रोश र लहडको मनोविज्ञान प्रवल छ । आशावादी हुने मन छ, तर मुलुकको वास्तविकता यस्तै–यस्तै छ !’

अर्का राजनीतिक विश्लेषक डम्बर खतिवडा नेतृत्वको आलोचना गर्दा पार्टीबाटै कारबाही गर्ने, फरक मत राख्दा पूर्वाग्रही हुनु दुःख भएको बताउँछन् । उनको टिप्पणी छ, ‘नेतृत्वको आलोचना गर्दा पार्टीबाटै कारबाही गर्ने, फरक मत राख्दा पूर्वाग्रही हुने, राजनीतिक भूमिकाबाट बञ्चित गर्ने, पार्टी महाधिवेशनमा प्रतिनिधिलाई चुनाव लड्न नदिएर टाउके सहमति गरी खल्तीबाट निकालेको लिष्ट पढ्ने, निर्वाचन गर्न पर्छ भनेर महाधिवेशन स्थगन गरेर भाग्ने–यस्ता सबै पार्टी नामका दोकान बन्द हुनु पर्छ । यी लोकतन्त्रका नाममा लोकतन्त्रकै शत्रु, नयाँ प्रकारका निरंकुश, अधिनायकवादी र पाखण्डी हुन् । कामै छैन यस्ताको । आजको कार्यभार लोकतन्त्रको लोकतान्त्रिकरण हो, राज्य,समाज, संस्था र पार्टी सबैतिर अझ बढी लोकतन्त्र हो, लोकतन्त्रको संकुचन हैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *