राष्ट्रिय योग्यता–सह–प्रवेश परीक्षा (निट–युजी) परीक्षा सन् २०२४ मा कथित अनियमितताहरूको अनुसन्धान आफ्नो हातमा लिएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) ले विशेष टोली गठन गरेको केन्द्रीय एजेन्सीले जनाएको छ ।
सिबिआईका अनुसार बिहारको पटना र गुजरातको गोधरामा विशेष टोलीहरू पठाइँदैछ । त्यहाँ स्थानीय प्रहरीमा मुद्दा दर्ता गरिएको छ ।
“सिबिआईले आपराधिक मुद्दा दर्ता गरी अनुसन्धान थालेको छ । यस विषयलाई प्राथमिकतामा राखेर अनुसन्धान गर्न विशेष टोली गठन गरेको छ । विशेष सिबिआई टोलीहरू पटना र गोधरा पठाइएको छ”, विज्ञप्तिमा उल्लेख छ ।
यो केन्द्र सरकारले सिबिआईलाई निट–युजी परीक्षा सन् २०२४ मा भएको कथित अनियमितताको विषयमा विस्तृत अनुसन्धानको जिम्मा दिएपछि आएको हो ।
राष्ट्रिय परीक्षण एजेन्सी (एनटीए) ले सन् २०२४ मे ५ मा ओएमआर (पेन र पेपर) मोडमा निट–युजी परीक्षा सञ्चालन गरेको थियो ।
सञ्चालनमा पारदर्शिताका लागि परीक्षा प्रक्रियाको समीक्षापछि भारत सरकारको शिक्षा मन्त्रालयले यस विषयमा विस्तृत अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) लाई जिम्मा दिने निर्णय गरेको छ ।
निट–युजी परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षण एजेन्सी (एनटिए) ले परीक्षामा अनियमितता भएको भन्दै आलोचनाको सामना गरिरहेको छ । यसले देशभरि धेरै प्रदर्शनहरू निम्त्याएको छ । प्रदर्शनकारी र राजनीतिक दलहरूले एनटिए खारेज गर्न माग गर्दै आएका छन् ।