काठमाडौँ । माओवादीको कारबाहीमा परेका नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गराएका छन् ।
देवकोटाले आफूमाथि भएको कारबाही गैरकानुनी भएको भन्दै बिहीबार निर्णय कार्यान्वयनमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।
उनले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धिताल, प्रदेशसभा सचिवालय, नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, प्रदेश समिति, संसदीय दलका नेता हरिबहादुर चुमान र निर्वाचन आयोगलाई विपक्षी बनाएका छन् । देवकोटाले जेठ २९ को पत्र र जेठ ३२ को सूचना कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरिम आदेशको माग गरेका छन् ।
त्यस्तै प्रदेशसभा सदस्यको हैसियतमा पूर्ववत् कामकाज गर्न कुनै अवरोध नगर्नु भनी अन्तरिम आदेश जारी गर्न समेत माग गरेका छन् । देवकोटा निर्वाचनमा माओवादीको चुनाव चिन्ह लिएर गोरखा २(१)बाट उनी निर्वाचित भएका थिए ।
माओवादी संसदीय दलको ह्विप उल्लङ्घन गर्दै २८ जेठमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएपछि माओवादी संसदीय दलले उनलाई कारबाही गरेको हो ।
तर देवकोटाको आफू नेपाल समाजवादी पार्टीका सांसद भएकाले माओवादीले कारबाही गर्न नसक्ने दाबी गर्दै आएका छन् । देवकोटाले दायर गरेको रिटको पहिलो पेशी आइतबार तोकिएको छ ।