बरालिएको संसदको बहस

काठमाडौं । संसदमा जनताबाट निर्वाचित प्रतिनिधि जान्छन् र त्यहाँ उनीहरुले जनताका आजाव बुलन्द पार्ने गर्छन् । केही सांसदले त जनताको आवाज बोल्छन् तर केही सांसद भने बरालिए जस्तो देखिएका छन् । केही सांसदले ढाँट्नदेखि, दारु मदिरासम्मका बहस संसदमा गरेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेको छ । त्यसकाबारेमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदनमा प्रधानमन्त्रीको जवाफ माग्यो । पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीबाट लामिछानेले रकम लिएको भन्ने समाचार पनि आइरहेका थिए । तर प्रधानमन्त्रीले सदनमा जवाफ दिनेक्रममा गृहमन्त्री निर्दोष रहेको बताए । प्रधानमन्त्रीले हालसम्मको अनुसन्धानले उहाँ सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारीमा नरहेकाले दोषी नरहेको जिकिर गरे । जबकी पोखराको सूर्यदर्शन सहकारीबाट गृहमन्त्रीले एक करोड रुपैयाँ लिएको पोखरा महानगरको प्रतिवेदनमा पनि उल्लेख छ । त्यस्तै सहकारी पीडितले माघमा रवि लामिछानेको नाम किटेर पूरक जाहेरी दिएका थिए । तर प्रधानमन्त्रीले त्यसलाई अनदेखा गरि गृहमन्त्रीलाई निर्दोषिताको प्रमाणपत्र नै दिए । त्यस्तै बुटवलको सुप्रिम सहकारीबाट गृहमन्त्रीको नाममा दुई करोड कर्जा लिएको भन्दै प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा पनि उल्लेख छ । यस प्रकरणमा प्रधानमन्त्रीले सदनको रोष्ट्रममा उभिएर बोल्दा ढाँटे । जसका कारण केही दिनअघि पोखरा पुगेका प्रधानमन्त्रीलाई सहकारी पीडितले कालोझण्डा देखाएका थिए ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध पार्दै आएको थियो । गृहमन्त्रीले आफूले बोल्न पाउनुपर्ने माग गर्दै आएका थिए । तर कांग्रेसले गृहमन्त्रीलाई बोल्न नदिने अडान लिएको थियो । तर गृहमन्त्रीले सभामुखसँग बोल्न पाउँ भन्दै निवेदन दिए । तर अन्तिममा गृहमन्त्रीका कुरा सुन्न कांग्रेस तयार भयो । तर गृहमन्त्रीले सदनमा बोल्दा आफूमाथि लागेका आरोपबारे स्पष्टीकरण दिनुभन्दा पत्रपत्रिकामा आएको कुरा भन्दै कांग्रेस नेताहरुलाई लक्षित गरी जथाभावी टिप्पणी गरे । उनले आरोप ढाकछोप गर्न आरोपकै सहारा लिए ।

उनले कांग्रेस महामन्त्री गगन थापामाथि विदेशीलाई सूचना बेच्ने गरेको आरोप लगाए । उनले भने, ‘अप्रमाणित हल्ला बोकेर संसदलाई लेक्चर दिनुभयो। काम गर्नुभएन। सहकारी ठगी गर्नेलाई मात्र होइन, अनुदानको रकम हिनामिना गरेर कुखुरा, हाँस, माछा, खसी, बोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऊँ, दुई–तीनवटा नागरिकता बोक्नेलाई मात्र होइन। नागरिकता एउटै बोक्ने देशकै बोक्न, देशकै सूचना बोक्ने देशका एजेन्ट र एसेट्सहरूलाई पनि बाहिर पठाऊँ। संसदबाट हटाऊँ। त्यो जतिसुकै शक्तिशाली होस्, त्यो देशको मन्त्री होस् या पार्टीको महामन्त्री होस्!’ गृहमन्त्री बढी गगन थापामाथि आक्रोशित देखिएका थिए । कानुन कार्यान्वयन गर्ने ठाउँमा भएको गृहमन्त्रीले यसरी आरोप लगाए सकियो । तर त्यसपछि पत्रकारहरुले प्रश्न गर्दा अहिले गृहमन्त्री आफूले त पत्रपत्रिकामा आएको कुरा भनेको मात्र हो भनेर पन्छिँदै हिँडेका छन् ।
सदनमा अर्का एकजना सांसद स्त्रीद्वेषी अभिव्यक्ति दिएर विवादमा परेका छन् । सासद योगेन्द्र मण्डलले विवादास्पद अभिव्यक्ति दिएका हुन् । उनले भने, ‘म एउटा कुरा भन्न चाहन्छु । फेरि सडकमा आन्दोलन होला । होस्, महिलामन्त्री र कानूनमन्त्री आज म एउटा कुरा भन्न चाहन्छु । क्रिकेट वर्ल्ड कपमा नेपालको एक अंक छ । जम्मा एक अंक मात्रै । तीन अंक हुनुपर्ने थियो र नेपाल आठौं चरणमा प्रवेश गर्थ्यो । सोच्नुहोला, कानून कस्तो बनाउनुभएको छ । अर्को यसैमा म जोड्न चाहन्छु । कस्तो कानून बनाउनुभएको छ ? महिलालाई सम्मान गर्नुभएको छ, म एकदमै खुशी छु । श्रीमानमाथि पनि महिलाले जबरजस्ती करणीको मुद्दा हाल्न पाउँछ । एकदमै खुशी छु म । त्यो महिलाको हक अधिकार हो । अब त्यो श्रीमान मन लागेको बेला आफ्नो इच्छा पूरा गर्नलाई के गर्ने ? नहाँसौं, कानूनसँग जोडिएको कुरा हो । तपाईं हामीसँग जोडिएको कुरा हो । के गरुन् त अब ? के गर्ने भन्ने विषयमा मन्त्रीज्यूले विचार गर्नुहोला ।’

मदिरा खाएर टेलिभिजनमा अन्तरवार्ता दिन गएको भन्दै विवादमा परेका कांग्रेस सांसद राजेन्द्र बजगाईंले बन्दै गरेको नयाँ संसद भवनमा मदिरा पिउने बार बनाउन प्रस्ताव गरे । उनले विदेशी पाहुनाको सत्कारका लागि बार बनाउन प्रस्ताव गरेका हुन् । उनले भने, ‘म सन् २००६ मा अमेरिकामा कंग्रेसम्यानको अफिस गएको थिएँ। कंग्रेस र सिनेटको अफिस घुम्ने अवसर पाएको थिएँ। सिनेटमा आतिथ्यता गर्न जाने पाहुना पर्यटकहरूका लागि बार बनाइदिँदो रहेछ । त्यहाँ डेमेक्रेट्सहरुले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् र रिपब्लिकनहले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन् । त्यहाँ ड्रिंक्स पनि खान पाइन्छ । अधिकांश माननीय मदिरा पिउनु हुन्न । मैले लण्डन स्कुल अफ इकोनमिक्समा जाँदा पनि क्यान्टिनमा बार देखें । त्यसको लिमिटेशन हुन्छ। त्यसपछि मैले अहिले बन्दै गरेको संसद भवनभित्र विदेशी पाहुनाहरू आउँदाखेरि सोसलाइजेन गर्ने बार निर्माण गर्ने हो कि ? यो पर्यटकीय हिसाबले महत्वपूर्ण छ ।’

सदनमा प्रधानमन्त्रीले कांग्रेसलाई जवाफ दिँदा गृहमन्त्रीको बचाउ गर्नुपर्ने थिएन । किनकी अनुसन्धानको विषय भएकाले दोषी देखिए कारबाही हुन्छ भनेको भए हुन्थ्यो । तर लाखौं बचतकर्ता बिचल्ली भएको विषयमा एउटा सांसद अनि प्रधानमन्त्रीले हल्का रुपमा लिनु गलत हो । प्रधानमन्त्रीको त्यो अभिव्यक्तिले महिनौंसम्म सदन अवरेधको अवस्थामा पुग्यो । त्यस्तै जुन विषयमा स्पष्टीकरण दिनुपर्ने गृहमन्त्रीले आफ्नो आरोपको स्पष्टीकरण दिनुको सट्टा विषयान्तर गर्न अर्को दललाई आरोप लगाएर उम्किन खोजे । सदनमा प्रधानमन्त्री, गृहमन्त्री अनि योगेन्द्र मण्डल र राजेन्द्र बजगाईंहरुले गरेका बहस हेर्दा लाग्छ कतै सदन जनताको आवाज बुलन्द गर्ने ठाउँ रहेन । के यस्तै विषयमा सदन अल्झिरहने हो त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *